04/07/2025, 07:01:55

धार्मिकस्थल गङ्गा खोलाको संरक्षण गरिँदै


भोजपुर, २४ चैत : यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गङ्गा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् ।

ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने स्थानीयवासी राजेन्द्र राईले जानकारी दिनुभयो । देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीयस्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ ।

यहाँको पानीले नुहाएमा सबै खालका छालाको रोग निको हुने तथा कुनै पनि पुण्यकर्ममा चढाउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको उहाँको भनाइ छ ।

गङ्गा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “गोल्मेराजा, गोल्मेरानी भिरको काखमा रहेको यो स्थान प्रचारप्रसार तथा संरक्षण अभावमा ओझेल परेको छ । यो स्थानको धेरै विषेशतासँगै पौराणिक महत्व छ । भौगोलिक विकटताका कारण यो क्षेत्रको विकासमा बाधा पुगेको अवस्था छ । राज्यले यस्ता देशका सम्पत्तिको खोजी गरेर संरक्षणमा जोड दिन आवश्यक छ ।

गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षात्को समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो क्षेत्रको विकासका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ ।

वडाले बजेट विनियोजन गरेर आउने भक्तजनलाई लक्षित गरेर धारा निर्माण गरिदएको वडाध्यक्ष आचार्यले बताउनुभयो । यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले राज्यका अन्य निकायसँग पनि हारगुहार गरिएको उहाँले बताउनुभयो । मुख्य रूपमा मुहान भएको स्थानसम्म पुग्ने पदमार्गको आवश्यकता रहेको उहाँको भनाइ छ ।

स्थानीय सरकार, केन्द्र सरकार तथा प्रदेश सरकारले यो स्थानको विकासमा पहलकदमी गर्न आवश्यक रहेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । यो क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।

गङ्गा खोला एउटा अनौठो र आश्चर्य खालको पवित्र धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “यो स्थानको स्थलगत अनुगमन गर्दा साँच्चै नै प्रकृतिको अनौठो स्वरुप देख्न सकिन्छ । यहाँको भूबनोटले सबैलाई चकित बनाउँछ । तर यस्तो ठाउँको अहिलेसम्म संरक्षणसँगै प्रचारप्रसार हुनसकेको छैन ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ