04/05/2025, 11:25:47

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो


दमौली (तनहुँ), २३ चैत : तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो ।

सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक जिल्लामा आइसकेको पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयका केही पुस्तक मात्रै आउन बाँकी छन् । अरु सबै आइसक्यो ।

जनक शिक्षा सामग्री मार्फत् सबै पुस्तक जिल्लामा आइपुगेको उहाँले जानकारी दिनुभयो । विगतका वर्ष जस्तै यस वर्ष पनि शैक्षिक सत्र अगावै जिल्लामा पाठ्यपुस्तक आएको उहाँको भनाइ छ । जिल्लाभर ६० पुस्तक व्यवसायी छन् । सबै व्यवसायीले केही दिनमै पाठ्यपुस्तक बिक्री वितरण थाल्ने उहाँले बताउनुभयो ।

जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलको भनाइ छ । इकाइका अनुसार तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् ।

आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले आज विद्यालयमै पाठ्यपुस्तक आइपुग्ने जानकारी दिनुभयो । भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाख २ गतेदेखि कक्षा सञ्चालन हुँदैछ । भोलिदेखि नै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिनेछ ।

आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले समयमै पाठ्यपुस्तक आएकाले सहज भएको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ