८ श्रावण, काठमाडौं । काठमाडौं । विगत एक वर्षदेखि मेसेजिङ एप ह्वाट्सएपले फोन नम्बर लुकाउन तथा युजरनेम राख्न मिल्ने फिचर परीक्षण गरिरहेको छ । दुई अर्ब बढी सक्रिय प्रयोगकर्ता भएको ह्वाट्सएपले उक्त फिचर छिट्टै सार्वजनिक गर्ने सङ्केत दिएको छ ।
ह्वाट्सएपका बारेमा समाचार लेख्ने प्लेटफर्म डब्लूए बेटा इन्फोले सार्वजनिक गरेको रिपोर्ट अनुसार अहिले कम्पनीले वेब प्रयोगकर्तालाई यस्तो फिचर उपलब्ध गराउने कामलाई प्रभावकारी रूपमा अगाडि सारेको छ ।
यस अन्तर्गत आफ्नो गोपनीयताका लागि फोन नम्बर लुकाउन चाहने प्रयोगकर्ताले छुट्टै युजरनेम छान्नुपर्ने हुन्छ । जसले गर्दा अन्य प्रयोगकर्ताले युजरनेम मार्फत पनि सम्पर्क गर्न सक्नेछन् । वेबका प्रयोगकर्ताले यो फिचर पाइसकेपछि एप प्रयोगकर्ताले पाउने बताइएको छ ।
खासगरी फोन नम्बर नदिएर युजरनेमको भरमा सम्पर्कमा जोडिन चाहने प्रयोगकर्तालाई लक्षित गरी यो फिचर ल्याउन लागिएको हो । प्रयोगकर्ताले आफूले छानेको युजरनेम पहिले अरू कसैले प्रयोग नगरेको वा तत्काल कसैले प्रयोग नगरेको किसिमको राख्नु पर्नेछ ।
युजरनेम उपलब्ध भएको खण्डमा प्रयोगकर्ताले सोही युजरनेम सेटअप गर्न सक्नेछन् । एक पटक युजरनेम सेट गरिसकेपछि तपाईंको युजरनेम वा मोबाइल नम्बर थाहा हुनेले मात्र तपाईंलाई सम्पर्क गर्न सक्नेछन् ।
हाल विकासकै क्रममा भएकाले यो फिचर कहिले उपलब्ध हुन्छ भन्ने यकिन भइसकेको छैन ।