शनिबार, चैत ०१, २०८१

दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : कोशी प्रदेश मुख्यमन्त्री कार्की


विराटनगर, २ चैतः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना र सरकारका वार्षिक कार्यक्रमसम्म तारतम्य मिल्ने र यसले विकासलाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा आवधिक योजना र नीतिहरु एकातिर सरकारका वार्षिक नीति र कार्यक्रम अर्कोतिर हुने परिपाटी मिल्न नसकेकाले यसलाई मिलाएर अगाडि लैजानुपर्ने अवस्था छ ।

जलवायु परिवर्तनले गर्दा विकास निर्माण नीति बनाएर नै गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनलाई ख्याल नगर्दा विकास निर्माणले विपत्ति निम्त्याएको बताउनुभयो ।

विपत्ति र जलवायु परिवर्तनको जोखिमलाई आँकलन गरेर नीति बन्नुपर्ने कुरामा ध्यान जानुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसमा ध्यान दिनसके हाम्रा योजना सफल हुने बताउनुभयो । सडक र पुल बनाउनेबित्तिकै भत्किने अहिलेको अवस्था रहेकाले पनि पूर्वाधार नीति आवश्यक रहेको मुख्यमन्त्री कार्कीले औँल्याउनुभयो ।

मुख्यमन्त्री कार्कीले विपद् र जलवायु परिवर्तनलाई ध्यानमा राखी पूर्वाधार नीति राम्रो बनाउनुको विकल्प नभएको बताउनुभयो । पूर्वाधार नीति तर्जुमा गोष्ठीमा कोशी प्रदेश सरकारका मन्त्री, सचिव एवं विज्ञहरूको सहभागिता छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ