काठमाडौँ, २९ फागुनः सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सबैमा प्रेम, शान्ति र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“फागु पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । धार्मिक रूपमा भक्त प्रह्लादको कथासँग जोडिएको यो पर्वले जीवनमा सकारात्मक सोच राख्न प्रेरणा दिन्छ । यो विभिन्न जातजाति, धर्म, क्षेत्रका मानिसहरूबीच मेलमिलाप र एकता बढाउने, नेपाली समाजको पहिचान झल्काउने पर्व हो, रङ, रमाइलो र उत्सवमय वातावरणले यस पर्वलाई अझ उल्लासमय बनाउँछ”, सभामुख घिमिरेले भन्नुभएको छ ।
उहाँले पछिल्लो समय फागु पूर्णिमा मनाउने तरिकामा केही विकृतिहरू देखिन थालेको उल्लेख गर्दै जबर्जस्ती रङ दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थको दुरुपयोग गर्ने जस्ता प्रवृत्तिले चाडको वास्तविक भावना धमिल्याइरहेको उल्लेख गर्नुभएको छ । “नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभौगोलिक विशेषता भएको देश हो । नेपालमा अनेक जाति, भाषा, संस्कृति छन्, आ–आफ्नै मौलिक संस्कृति र चाडपर्व छन् । विविध चाडपर्व र संस्कृतिभित्र नेपाली एकता प्रतिविम्बित छ । नेपालका सबै चाडपर्वका विशेषता भनेको आपसी एकता, सद्भाव, सहकार्य कायम राख्नु रहेको छ”, सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











