धरान (सुनसरी), २८ फागुनः प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् ।
विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बन्नुभएका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्कनुभएका उहाँले रु ३० हजार लगानीमा सुरु गर्नुभएको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आउनुभएको छ ।
विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहनुभएका सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताउनुभयो । उहाँको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उहाँको बारीमा दैनिक ज्यालादारीमा तीन जना कार्यरत छन् । उहाँले भन्नुभयो, “अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छु, , गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार राख्ने गरेको छु । मैले उत्पादन गरेको सागसब्जी बिक्रीका लागि बजार लानु पर्दैन, बजारको समस्या छैन खरिद गर्न व्यापारी आफैँ फार्ममा आउनुहुन्छ । धरान, इटहरी, गाईघाट, दमक बराहक्षेत्रका व्यापारी फार्ममा नै गोलभेँडा खरिद गर्न आउने गरेका छन् ।”
गोलभेँडाको मूल्य मङ्सिरदेखि पुससम्म राम्रो हुन्छ जुन समय रु ४५ देखि ६० सम्ममा फार्मबाटै व्यापारीले खरिद गरेर लाने गरेकामा अहिले भने बजारमा गोलभेँडाको मूल्य घटेको कारण रु १० देखि रु १५ मा बिक्री गर्नुपरेको उहाँले बताउनुभयो । प्लाष्टिक टनेलमा गोलभेँडाखेती गर्नुभएका उहाँ यसो गर्दा उत्पादन बढ्ने उहाँले सुनाउनुभयो । गोलभेँडाखेती सुरु गरेको वर्ष स्थानीय सरकारबाट उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएपछि उहाँले पछाडि फर्केर हेर्नु परेको छैन । उहाँ काममा नै तन्मय हुनुहुन्छ ।

गोलभेँडा आठ महिना उत्पादन हुन्छ, सिजनमा दैनिक १४ क्विन्टलसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । एक सिजनमा उहाँले तीन हजार क्विन्टलसम्म गोलभेँडा बिक्री गर्दै आउनुभएको छ । स्थानीय सरकारले प्रत्येक वर्ष अनुदानस्वरुप गोलभेँडाको बीउ, मल प्रदान गर्ने गरेको छभने कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएको रु सात लाख अनुदानले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको बताउनुभयो ।
अनुदानसँगै तालिम पनि पाएमा कीरा नियन्त्रण गर्न सजिलो हुने उहाँ बताउनुहुन्छ । गोलभेँडाखेतीमा सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने अझ व्यावसायिक रूपमा राम्रो खेती गर्न सकिन्छ । जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टरमा सागसब्जीखेती हँुदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुहुन्छ । रामधुनीका साथै बराह क्षेत्रलगायत स्थानका किसानले गोलभेँडा, बन्दाकोबी र बोडीखेती गर्दै आएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











