सुन्दरहरैँचा (मोरङ), २४ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास एक दिने अभियान नभई निरन्तर गरिरहनुपर्ने काम भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
आज इटहरीमा पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित कोशी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा उहाँले पर्यटन पवर्द्धन र विकास दीर्घकालीन सोचका साथ गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “पर्यटनको विकास र प्रवर्द्धन बिहे गरेजस्तो एकदिने कार्य होइन, यो वर्षौं लगाएर गर्ने काम हो, त्यसैले दीर्घकालीन सोचका साथ अगाडि बढ्नुपर्छ ।” उहाँले पर्यटन क्षेत्रको मजबुत विकासबाट राष्ट्रिय पुँजी निर्माण गर्न सकिने बताउनुभयो ।
पर्यटन पवर्द्धनका लागि सरकार, निजी क्षेत्र र कर्मचारी संयन्त्रबीच एकरूपता आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । सोचाइ फरक भएमा कार्यान्वयनमा समस्या आउने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशले पर्यटनको क्षेत्रमा केन्द्र र स्थानीय तहलाई प्रेरित गर्नेगरी उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले पर्यटन पवर्द्धनका लागि संरचनागत, नीतिगत र कानुनी सुधार अनिवार्य रहेको उल्लेख गर्दै व्यवस्थापकीय कामलाई चुस्तदुरुस्त बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले युवालाई पर्यटन प्रचारप्रसारमा संलग्न गराउँदै पर्यटन क्षेत्रबाट मुलुकको उज्ज्वल भविष्य सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताउनुभयो ।