डुम्रे (तनहुँ), २४ फागुन : समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल हुनुभएको छ तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यावसाय र राजनितिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ ।
उहाँले म्याग्दे गाउँपालिका–४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरिरहनुभएको छ । चाहना र समय व्यवस्थापन गर्न सके हरेक क्षेत्रबाट उत्पादन तथा आम्दानी लिन सकिने उहाँको बुझाई छ । उहाँ हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्नुहुन्छ । स्वास्थ्यका लागि समेत बिहान सबेरै उठेर बिरुवाको गोडमेल गर्न उपयुक्त हुने उहा बताउँनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन सुरु गरेको छ ।” घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भएपनि आगामी वर्षबाट व्यावसायिक रुपमा उत्पादन हुने उहाँ बताउनुहुन्छ । “आगामी वर्षबाट बजार पठाउने कागती उत्पादन हुनेछ”, उहाँ भन्नुहुन्छ, “एक सिजनमा १५–२० हजार किलो कागती उत्पादन हुन्छ ।” भुगोल र माटो सुहाउदो खेती गरेकाले बादर लगायतका जङ्गली जनावरले समेत क्षति पु¥याउन नसक्ने र बाँझिएको जमिनको उपयोग हुने नगर प्रमुख पण्डित बताउनुहुन्छ ।
पृथ्वी राजमार्गबाट छोटो दुरीमा रहेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा युवालाई कृषितर्फ प्रोत्साहन गर्न सकिने उहाँको बुझाइ छ । सामाजिक व्यक्तित्वले कागजी खेती गरेपछि अन्यलाई समेत यस प्रतिको प्रेरणा मिलेको छ । सामान्यतया कोदो, मकै लगायतका खाद्यान्न लगाउदाँ जङ्गली जनावरले क्षति पु¥याएको भनेर बाँझिदै गएको जमिनमा कागती खेती गरिएको हो ।
कोदो, मकै, भटमासलगायतका खेती गर्दा बाँदरलगायतका जङ्गली जनावरले क्षति पु¥याएपछि बाँझो बनेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा अन्यले समेत कागती खेतीतर्फ आकर्षित भएका स्थानीय हेमकुमार कायस्थ बताउनुहुन्छ । समाजको नेतृत्व गरिरहनु भएका व्यक्तिले कृषिमा चासो दिएर संलग्न हुने गरेमा उपेक्षित बन्दै गएको कृषि पेशाप्रतिको दृष्टिकोण नै सम्मानित बन्ने उहाँ बताउनुहुन्छ ।
नेपाली काँग्रेसकै नेता बालकृष्ण पौडेल पण्डितको जस्तै अन्य जनप्रतिनिधिको देखिने गरि कुनै पेशा व्यावसाय हुनुपर्ने धारणा राख्नुहुन्छ । कृषि पेशा नै उपेक्षित र खेती गर्ने संस्कृति लोप हुँदै जान थालेको अवस्थामा नगर प्रमुखको कृषिप्रतिको लगाव उदाहरणीय भएको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “गाउँघरमा बाँझो रहेका छन्, उहाँको लगावले युवालाई प्रोत्साहन गर्ने गरेको छ, गाउँघरका बाँझिएका जमिनमा केही गर्न सकिन्छ है भन्ने आशा मेयरको प्रयासले जगाएको छ ।” जनप्रतिनिधीहरु समाजका मार्गदर्शक हुन् । समाजलाई परिवर्तन गर्न सक्ने गरी हौसला दिन सक्ने हुनुपर्ने गुण उहाँमा देखिएकोले सर्वसाधारणलाई उत्साहित गराउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
बजार माग उच्च रहेको कागजी खेतीसँग अब पुख्र्यौली जमिनमा व्यावसायिक रुपमा मेवा खेती गर्ने नगर प्रमुख पण्डितको तयारी छ । उहाँ आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोचका साथ कृषि क्षेत्रमा आवद्ध भएको बताउनुहुन्छ । भारतबाट ल्याउनुपर्ने कागती समेत यहीँ उत्पादन बृद्धि भएसँगै खपत हुनेछ ।
अम्लिय फलफूलको व्यावसायिक खेतीले बाँदरलगायतका जङ्गली जनावरले क्षति पु¥याउन सक्ने छैन । कृषि ज्ञान केन्द्रले बाँदरको बढी आतङ्क रहेका स्थानमा अम्लिय फलफूल खेतीलाई प्रोत्साहन गर्दै आएको छ । अम्लिय पदार्थलाई बाँदर कम क्षति पु¥याउने गरेको पाइएको केन्द्रले जनाएको छ ।
यहीँ उत्पादन बढाउन सकिएमा कागतीलगायतका तरकारी तथा अम्लिए फलको आयात घटाउन समेत सहयोग पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तरकारी तथा फलफूल आयातमा न्यनीकरण गर्नका लागि स्थानीय रुपमा नै जमिन बाँझो बनाउनुभन्दा उपयोगलाई नेतृत्वमा आवद्ध व्यक्तिको भूमिका महत्वपूर्ण हुनेछ । यहीँ उत्पादन गर्न सकिएमा खपत हुनेछ भने आयस्तर नै परिवर्तन हुनुका साथै आत्मनिर्भर हुनेछ ।