काठमाडौँ, २३ फागुनः युरोपेली सङ्घ (इयु) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको किएभ र उहाँका ट्रान्सअटलान्टिक साझेदारहरूबाट टाढा हुने निर्णयको सामना गर्न सङ्कट वार्ता सुरु गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार युरोपेली सङ्घ (इयु) का नेताहरूलाई युक्रेनको साथमा उभिएकामा धन्यवाद दिनुभएको छ ।
बिहीबारको शिखर सम्मेलनमा इयुका सबै २७ सदस्य राष्ट्रका नेताहरू गत हप्ता ट्रम्प र जेलेन्स्कीबीच भएको विस्फोटक बैठकपछि पहिलो पटक एकसाथ आएका छन् । त्यसयता वासिङ्टनले सैन्य सहायता र खुफिया जानकारी साझेदारी निलम्बन गरेको छ । अमेरिकी सैन्य सहायता र खुफिया जानकारीले किएभलाई रुसको आक्रमणको सामना गर्न मद्दत गरेको थियो ।
“हामी धेरै आभारी छौँ कि हामी एक्लै छैनौँ । र यी केवल शब्दहरू मात्र होइनन्”, इयुका प्रमुखहरू उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाको साथमा उभिँदै युक्रेनी राष्ट्रपतिले वार्ता सुरु हुँदा पत्रकारहरूलाई भन्नुभयो ।
युरोपको सुरक्षाका लागि अमेरिकाको दीर्घकालीन प्रतिबद्धता अहिले शङ्कामा परेको छ र इयु यस क्षणको सामना गर्न दबाबमा छ । यसै हप्ता जर्मनीका सम्भावित अर्का नेताले रक्षामा ऐतिहासिक यु–टर्नको प्रतिज्ञा गर्नुभएको छ ।
“यो युरोपका लागि एउटा निर्णायक क्षण हो”, भोन डेर लेयनले भन्नुभयो । उहाँले रुसको खतराको सामना गर्न ‘युरोपलाई पुनः हतियारबन्द गर्न’ आठ खर्ब युरो जुटाउने उद्देश्यले एक योजना प्रस्तुत गर्नुभएको छ ।
“युरोपले स्पष्ट र वर्तमान खतराको सामना गरिरहेको छ, त्यसैले युरोपले आफ्नो रक्षा गर्न सक्षम हुनुपर्दछ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो, “यो युक्रेनका लागि पनि निर्णायक क्षण हो, हामीले युक्रेनलाई आफ्नो रक्षा गर्ने र स्थायी र न्यायपूर्ण शान्तिका लागि दबाब दिने स्थितिमा राख्नुपर्छ ।”
नेताहरूले बिहीबार आयोगको रक्षा योजनाहरूलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । यो मुख्य रूपमा राज्यहरूलाई धेरै खर्च गर्न स्वतन्त्र बनाउनेमा आधारित छ जुन इयुका दुई आर्थिक शक्तिशाली देशले गर्ने सम्भावना रहेको छ ।
शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक गम्भीर राष्ट्रिय सम्बोधनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘नयाँ युग’ को सामना गर्न रक्षा खर्चमा वृद्धि गर्न आह्वान गर्नुभयो र फ्रान्सको आणविक प्रतिरोध युरोपेली साझेदारहरूमा विस्तार गर्नेबारे छलफल गर्ने बताउनुभयो ।

“आजको यो रुस युक्रेनमा रोकिनेछ भनेर कसले विश्वास गर्न सक्छ ?” म्याक्रोनले प्रश्न गर्नुभयो, “म विश्वास गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिका हाम्रो पक्षमा रहनेछ, तर हामी त्यस्तो नहुनका लागि तयार हुनुपर्छ ।”
वार्ताअघि ब्रसेल्समा इयु प्रमुखहरूसँग छलफल गर्नुभएका जर्मनीका चान्सलर–इन–वेटिङ फ्रेडरिक मेर्जले आफूलाई ‘सबैभन्दा खराब परिस्थिति’ का लागि तयार रहेको घोषणा गर्नुभएको छ र जर्मन रक्षा खर्च बढाउन आमूल सुधारहरू अँगाल्नुभएको छ ।
– इच्छुकहरूको गठबन्धन –
जेलेन्स्कीको ब्रसेल्स भ्रमण ह्वाइट हाउसमा भएको विवादपछि वासिङ्टनसँग पुनः सम्बन्ध स्थापित गर्न हतारिएको बेला आएको छ –– उहाँले ट्रम्पको ‘बलियो नेतृत्व’ अन्तर्गत शान्ति सम्झौताको दिशामा काम गर्न र युक्रेनी खनिज स्रोतहरूमा अमेरिकी पहुँचको सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिन तयार रहेको घोषणा गर्नुभयो ।
तर जर्मनीका निवर्तमान नेता ओलाफ स्कोल्जले युक्रेनमा कुनै पनि ‘थोपरिएको शान्ति’ विरुद्ध युरोपेली चेतावनीहरू दोहोर्याउनुभयो । भविष्यको सम्झौताले किएभको ‘सार्वभौमिकता र स्वतन्त्रता’ को ग्यारेन्टी गर्नुपर्ने उहाँले बताउनुभयो ।
किएभ र यसका युरोपेली साझेदारहरू दुवैलाई किनारा लगाउँदै तीन वर्षे युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्पर्कले युरोपलाई सङ्कटको मोडमा धकेलेको छ किनकि यसले अमेरिकी सुरक्षा सहयोगको थप स्थायी फिर्ता लिने सम्भावनाबारे विचार गरिरहेको छ ।
यसले युरोपेली सङ्घबाट बाहिरिएको पाँच वर्षपछि बेलायतलाई युरोपेली सङ्घमा फिर्ता ल्याउन पनि मद्दत गरेको छ । अब प्रधानमन्त्री किर स्टार्मरले म्याक्रोनसँग मिलेर ट्रम्प र जेलेन्स्कीबीचको पुल पुनर्निर्माण गर्न काम गरिरहनुभएको छ ।
स्टार्मर र अन्य युरोपेली नेताहरूले लन्डनमा भएको सप्ताहन्त वार्तामा जेलेन्स्कीलाई अँगालो हाल्नुभयो । उक्त वार्ताले नाटोका महासचिव र टर्की जस्ता गैर–युरोपेली सङ्घका साझेदारहरूलाई पनि भित्र्यायो । युरोपेली सङ्घका प्रमुखहरूले शुक्रबार ब्रसेल्स वार्ताका बारेमा बेलायती प्रधानमन्त्रीलाई जानकारी दिनेछन् ।

फ्रान्स र बेलायतले ‘हवाई, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविराम प्रस्ताव गरेका छन् र भविष्यको युद्धविराम सुरक्षित गर्न मद्दत गर्न ‘इच्छुकहरूको गठबन्धन’ का लागि आह्वान गरिरहेका छन् । टर्कीले बिहीबार शान्ति स्थापना प्रयासहरूमा भूमिका खेल्नसक्ने सङ्केत दिएको छ ।
ब्रसेल्सका नेताहरूले शान्ति सम्झौताका लागि ब्लकले के ‘सुरक्षा ग्यारेन्टी’ प्रदान गर्न सक्छ भनेर अझ व्यापक रूपमा विचार विमर्श गर्न सुरु गर्नेछन् । यसमा युरोपेली सैनिकहरूको तैनाथी समावेश हुनसक्छ, जुन केही राज्यहरूले समर्थन गर्छन् तर रुसले बिहीबार यसलाई स्वीकार नगर्ने कुरा दोहोर्याएको छ ।
जेलेन्स्कीले समर्थनको बलियो सङ्केतको अपेक्षा गर्न सक्नुहुन्छ । यद्यपि यो बैठकले किएभका लागि यस वर्ष ब्लकले पहिले नै प्रतिबद्ध गरेको ३० अर्ब युरो (३२ अर्ब डलर) भन्दा बढी सहायताको प्रमुख नयाँ घोषणाहरू प्राप्त गर्ने सम्भावना छैन ।
अमेरिकाले सहायता रोक्का गरेको भए पनि युरोपसँग हाल किएभको आवश्यकताहरू पूरा गर्न प्रतिबद्ध पर्याप्त पैसा छ भनी धेरै राज्यले तर्क गर्छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















