असार २१ | आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो।
कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ छन्।
लुम्बिनी प्रदेशमा कपिलवस्तु, रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रूकुम पूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ।
कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रूकुम पश्चिम, कालिकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ।
विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ। न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













