महेन्द्रनगर (धनुषा), १८ फागुन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसीलगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न आफ्नो पार्टी सदैव लागिपरेको बताउनुभएको छ ।
धनुषाको हङ्सपुर नगरपालिकाको सोनिगामा आज आयोजित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान खबरदारीसभा’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन, सङ्घीयताको व्यवहारिक अभ्यास, समावेशी प्रतिनिधित्व र मधेसको विकासमा प्राथमिकता दिँदै आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दहालले मधेसको माग पूरा गराउन पार्टी दृढतापूर्वक लाग्ने उल्लेख गर्नुभयो । मधेसको विकासका लागि हुलाकी राजमार्गको निर्माण कार्य छिटो सम्पन्न गराउन माओवादी केन्द्रले दबाब दिने बताउनुभयो । कमला पुलको शीघ्र निर्माणबारे स्थानीयले राख्दैआएको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको उहाँले स्पष्ट पार्नुभयो ।
माओवादी केन्द्रले जनताको भावना बुझ्न ‘घर–घर अभियान’ सञ्चालन गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले मधेसी जनताको पक्षमा आफ्नो पार्टी सधैँ इमानदार रहेको बताउनुभयो ।