शनिबार, फागुन १७, २०८१

बन्द हुँदै माइक्रोसफ्टको ‘स्काइप’ एप


काठमाडौँ, १७ फागुनः  अनलाइन भिडियो कलिङ सेवाको अवधारणालाई स्थापित गर्ने जस पाएको ‘स्काइप’ बन्द हुने भएको छ । माइक्रोसफ्टले सन् २०११ मा ८.५ अर्ब डलरमा खरिद गरेको यो एप आगामी मे ५ गतेदेखि सधैंका लागि बन्द गर्ने कम्पनीले घोषणा गरेको छ ।

स्काइप बन्द गरेर माइक्रोसफ्टले आफ्नो भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘माइक्रोसफ्ट टिम्स’ लाई थप सुदृढ बनाउन ध्यान केन्द्रित गर्ने एसोसिएटेड प्रेसले जनाएको छ । स्काइप प्रयोगकर्ताले स्काइपकै खाताबाट टिम्समा लग-इन गर्न पाउनेछन् । सन् २०१६ मा ३० करोड सक्रिय मासिक प्रयोगकर्ता रहेको स्काइपमा सन् २०२३ मा आइपुग्दा ३ करोड ६० मा झरेको फोर्ब्सको समाचारमा उल्लेख छ ।

सन् २००३ मा इस्टोनियाको एक इन्जिनियर समूहले स्थापना गरेको यो एपले ल्यान्डलाइन फोनको सट्टा इन्टरनेटबाट टेलिफोन कल गर्ने सेवाको सुरुवात गरेको थियो । भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मार्फत अडियो सिग्नलाई डिजिटल सिग्नलमा रुपन्तरण गर्ने सेवाबाट सञ्चार सुविधालाई रुपान्तरण गरेको स्काइपले पछि भिडियो कल सेवा पनि दिन थाल्यो । सन् २००५ मा यसलाई ईबे नामक ई-कमर्स साइटले खरिद गरेको थियो ।

भिडियो कम्युनिकेसनमा कुनै बेलाको सबैभन्दा प्रमुख रहेको स्काइप अन्य प्लाटफर्महरूको उदयसँगै छायामा पर्दै गयो । जुम, गुगल मिट, फेस टाइम, ह्वाट्सएपजस्ता भिडियो कलिङ एपहरूको विकासमा स्काइपले बाटो निर्माण गरेपनि पछि यिनै एपसँगको प्रतिस्पर्धामा स्काइप पछि पर्‍यो ।

स्काइप बन्द भए पनि यसमा भएका सम्पूर्ण कन्ट्याक्ट, म्यासेज हिस्ट्री, कल लग, तस्बिर, स्काइप खाता नै माइक्रोसफ्ट टिम्समा सार्न पाइने भएकाले प्रयोगर्ताहरू आत्तिनु नपर्ने माइक्रोसफ्ट ३६५ का अध्यक्ष जेफ टेपरले द भर्जसँगको अन्तरवार्तामा बताएका छन् । ‘टिम्समा आर्टिफिसियल इन्टेलिजेन्सहितको नयाँ फिचर समावेश गर्न स्काइप बन्द गरिएको हो,’ टेपरलाई उदृत गर्दै ब्लुमबर्गले लेखेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ