बुधबार, फागुन १४, २०८१

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत


धरान (सुनसरी), १४ फागुनः कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।

धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउनुहुन्छ । उहाँले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहनुभएको छ । “पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै रु एक लाख आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।

फूल रोप्ने सौखलाई व्यवसायमा बदल्नेमा धरान–११ का शिवमाया राई पनि हुनुहुन्छ । छ वर्षअघि मनी प्लान्टका दुईवटा बिरुवा घर ल्याएर रोप्नुभएकी उहाँले कालान्तरमा मनपरेका फूल सङ्कलन सुरु गर्नुभयो । अहिले उहाँले आफँै नर्सरी सञ्चालन गरिरहनुभएको छ । जहाँबाट विभिन्न प्रजातिका फूल र बिरुवा छन् । यसले सौखमात्र पूरा भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।

सुरुमा आफन्त र छिमेकी सित्तैमा लैजाने गर्दथे, उनीहरुले निःशुल्क पाएर होला, राम्रोसँग स्याहार नगरेको देख्दा चित्त दुख्थ्यो”, उहाँले भन्नुभयो, “पछि सित्तैमा दिन मन लागेन, प्रतिबिरुवा रु ५० लिन थाले, पछि यो व्यवसाय बन्यो ।

उहाँले सुरुआती आम्दानी फूल र बिरुवामै लगानी गर्नुभयो । अहिले यसैले व्यवसायी बनाएकामा उहाँ निकै खुसी हुनुहुन्छ । “सौखले रोप्न सुरु फूल पछि व्यवसाय बन्यो, अहिले यसैबाट मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । अहिले उहाँको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका फूल र बिरुवा छन् ।

धरानका लाहुरेका बस्तीमा घरको गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ । कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन् । फूल र बिरुवाप्रतिको लगावका कारण घर निर्माण गर्दा अलिकति भए पनि खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन पनि बढेको छ ।

धरान–८ मा पवित्र नर्सरी सञ्चालन गर्दै आउनुभएका प्रमिला राई १७ वर्षदेखि नर्सरीबाट भएको आम्दानीले नै परिवार धानिरहेको बताउनुहुन्छ । नर्सरीमा उहाँले केही व्यक्तिलाई जागिर पनि दिनुभएको छ ।

धरान–२० का युमेनहाङ राईले पनि पहिले फूल सङ्कलन गर्ने सौख नै अहिले व्यवसाय बनेको बताउनुहुन्छ । अहिले अहिले एभरेष्ट नर्सरी सञ्चालन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सुरुमा साथीभाइबाट मनपरेका फूल मागेर ल्याउँथे, पछि यसैलाई व्यवसाय बनाएँ, अहिले यही सौखको व्यवसायले घर खर्च धानेको छ ।” उहाँको नर्सरीमा अहिले रु एक सयदेखि रु ७० हजारसम्मका बिरुवा छन् ।

धरानका नगरप्रमुख हर्क साम्पाङ राईले पनि उपमहानगरमा फूल रोप्ने अभियान नै सञ्चालन गरिरहनुभएको छ । उहाँले सञ्चालन गर्नुभएको श्रमदान अभियानबाट धरानमा सडकको छेउछाउ र सर्दुखोलाको बगर र डाँडाकाँडामा विभिन्न प्रजातिका फूल र बोटबिरुवा रोपिएको छ ।

फूलले मानिसलाई आकर्षित मात्र गर्दैन व्यावसायिक पनि बनाउँछ”, उहाँ भन्नुहुन्छ, “फूलले धरान पर्यटकलाई पनि आकर्षित गर्छ ।” फूल र बोटबिरुवा धरानको चिनारीका रुपमा विस्थापित गर्नका लागि उक्त अभियान सञ्चालन भइरहने उहाँको भनाइ छ ।

धरानमा अहिले व्यावसायिक रूपमा फूल र बिरुवा बेच्ने तीन दर्जनभन्दा बढी नर्सरी छन् । धरानमा वार्षिक रु तीन करोडभन्दा बढीको फूल र बिरुवा हुने जानकारहरु बताउँछन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ