सोमबार, फागुन १२, २०८१

डिजिटल कारोबारमा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गर्नू : नेपाल टेलिकम


काठमाडौँ, १२ फागुन: सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले डिजिटल कारोबार गर्दा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गर्न अनुरोध गरेको छ । सुरक्षा जोखिमलाई औंल्याउँदै टेलिकमले सर्वसाधारणलाई मोबाइल डेटा प्रयोग गर्न भनेको हो । प्रयोगकर्ताले भने डेटा महँगो भएको प्रतिक्रिया दिएका छन् ।

मोबाइल एप वा वालेटमार्फत डिजिटल भुक्तानी गर्दा सार्वजनिक वाइफाईको प्रयोग असुरक्षित हुन सक्ने टेलिकमले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । यसले साइबर सुरक्षासम्बन्धी विभिन्न जोखिम उत्पन्न गराउन सक्ने भएकाले टेलिकमको मोबाइल डेटा प्रयोग गर्न सुझाव दिएको हो ।

टेलिकमले यसबारे सामाजिक सञ्जालमा पोस्ट गरेको छ । उक्त पोस्टमा कतिपय प्रयोगकर्ताले डेटा सस्तो बनाउन आग्रह गरेका छन् । ‘सूचना यस्तो जारी गर्ने, डेटाचाहिँ महँगो बनाउँदै जाने,’ फेसबुकमा एक प्रयोकर्ताले टेलिकमको पोस्टमा प्रतिक्रिया दिएका छन्, ‘यो कस्तो नीति होला !

नेपाल टेलिकमका ग्राहकहरूले मोबाइलबाट आस्टरिस्क १४१५ ह्यास (*१४१५#) डायल गरी वा नेपाल टेलिकमको एप प्रयोग गरेर आवश्यक डेटा प्याक सजिलै खरिद गर्न सक्ने सूचनामा भनिएको छ । ग्राहकले सहुलियत दरका डेटा प्याकेज खरिद गर्न सक्ने टेलिकमको भनाइ छ ।

टेलिकमले सुरक्षा जोखिम औंल्याउँदै आफ्ना ग्राहकलाई यसबारे सचेत रहन र मोबाइल नेटवर्ककै प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ