शनिबार, फागुन १०, २०८१

ठूला टेक कम्पनीमा धमाधम कर्मचारी कटौती, ‘एआई’ ले पूर्णतः प्रतिस्थापन गर्ने


काठमाडौँ, १० फागुन :  फेसबुक, इन्स्टाग्राम, म्यासेन्जरजस्ता चर्चित एपहरूको प्यारेन्ट कम्पनी ‘मेटा’ ले २०२५ मा आफ्ना कुल कर्मचारीको ५ प्रतिशत अर्थात् झन्डै ४ हजार जनाको रोजगारी कटौती गर्ने घोषणा गरेको छ । साथै, कम्पनीले ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स) कर्मचारी नियुक्तिमा थप लगानी गर्ने र कार्यालयका नियमित कामलाई एआईमार्फत प्रतिस्थापन गर्दै लैजाने योजना सार्वजनिक गरेको हो । कम्पनीले फेब्रुअरीमै कर्मचारी कटौती सुरु गर्ने अनुमान गरिएको छ ।

मेटाको आन्तरिक मेमोमा देशव्यापी कर्मचारी कटौती गर्दै मेसिन लर्निङ इन्जिनियर नियुक्त गरिने विषय समावेश भएको रोयटर्सले दाबी गरेको छ । अघिल्लो महिना मात्रै मेटाका प्रमुख कार्यकारी मार्क जकरबर्गले जो रोगनसँगको पडकास्टमा मध्यम तहका इन्जिनियर र प्राविधिकलाई विस्तारै एआईले प्रतिस्थापन गर्ने बताएका थिए । उनले यही वर्ष मेटाबाट झन्डै ५ प्रतिशत कर्मचारीलाई बिदा गर्ने तयारी गरिसकेको ब्लुमबर्गको रिपोर्टमा पनि उल्लेख छ ।

अर्को ठूलो प्रविधि कम्पनी, सेल्सफोर्सले पनि वर्ष २०२५ मा एक जना पनि नयाँ सफ्टवेयर इनिजिनियर भर्ती नगर्ने घोषणा गरेको छ । त्यसको सट्टामा एआईमा भर पर्ने कम्पनीको रणनीति रहेको बुझिन्छ । एजेन्टफोर्सजस्ता एआई प्रविधिको प्रयोगबाट सेल्स, मार्केटिङ, ग्राहक सेवासम्बन्धी जनशक्तिलाई प्रतिस्थापन गर्दै लाने सेल्सफोर्सको योजना छ ।

गोल्डम्यान स्याक्सको एक अध्ययन प्रतिवेदनअनुसार २०३० सम्ममा झन्डै ३० करोड मानव श्रमशक्तिलाई एआईले विस्थापन गर्ने छ । गएका दुई वर्षमा नै एआईको क्षमता व्यापक वृद्धि भइसकेको छ । अब यो प्रविधि कन्टेन्ट जेनेरेट गर्ने वा सानातिना काम सघाउनमा सीमित छैन । मेटा र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरूको काम सहज बनाउन एआई प्रविधि महत्त्वपूर्ण बनिसकेका छन् । यसले गर्दा मानव श्रमशक्तिमै प्रभाव पर्न थालेको छ । जेनेरेटिभ मोडेल र स्वचालित सफ्टवेयरजस्ता एआई माध्यमले कार्यालयहरूलाई रूपान्तरण गर्ने आकलन भइरहेका छन् ।

केही क्षेत्रहरूमा तत्काल र केही क्षेत्रमा क्रमशः रोजगारी गुम्ने क्रम सुरु भएको अध्ययनहरूले देखाएका छन् । हालै प्रकाशित विभिन्न तथ्यांकहरूले पनि एआईप्रति आधिकारिक रूपमै निर्भरता बढिरहेको चित्रण गरेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार न्युयोर्क वाल स्ट्रिटका ठूला बैंकहरूमा एआईको प्रयोगका कारण करिब २ लाख रोजगारी कटौती हुन सक्ने अनुमान गरिएको छ । जेपी मोर्गन, चेस एन्ड को र गोल्डम्यान स्याक्स ग्रुपजस्ता कम्पनीहरूले दक्षता र उत्पादकत्व बढाउन एआईको प्रयोग उल्लेख्य बढाउँदै लगेका छन् ।

विश्व आर्थिक मञ्चले केही समयअघि सार्वजनिक गरेको कामकाजको भविष्यसम्बन्धी प्रतिवेदनमा कार्यालयमा दैनिक हुने सामान्य प्रशासनिक कामहरू अब एआईको उपलब्धताले विस्तारै स्वचालित विकल्पतिर जाने उल्लेख गरेको थियो ।

यस्तै न्युजविकमा प्रकाशित एक रिपोर्टले पनि ग्राहक सेवासम्बन्धी कामहरू, तथ्यांक जम्मा गर्ने र विश्लेषण गर्ने, मार्केटिङ, बैंकका नोट गन्नेजस्ता काम, कार्यालयमा सहयोगीले गर्ने समय व्यवस्थापन जस्ता काम, सेल्ससँगै मिडिया र कन्टेन्ट सिर्जनाका कतिपय कामहरूमा विस्तारै एआई हाबी हुने उल्लेख गरेको छ । कतिपय कामहरू एआईले पूर्ण प्रतिस्थापन नगरी हाले पनि एआईको भूमिका आंशिक रूपमा बढ्दै जाने प्रतिवेदनहरूमा उल्लेख छ ।

ठूला प्रविधि कम्पनीहरूले विभिन्न कामलाई आक्रामक रूपमा अटोमेसन र एआईमा आधारित बनाउँदै जाने घोषणा गरेका छन् । सेल्सफोर्सले अलि फरक किसिमको र सकारात्मक दृश्य प्रक्षेपण गरेको छ । आईडीसी र सेल्सफोर्सद्वारा गरिएको अध्ययनले २०२८ सम्ममा विश्वभर झन्डै डेढ करोड नयाँ रोजगारी सिर्जना हुने देखाएको छ । प्रारम्भिक चरणमा केही रोजगारी गुम्न सक्ने भए पनि दीर्घकालीन रूपमा आर्थिक वृद्धि र नयाँ रोजगारीका अवसरहरू खुल्दै जाने सो अध्ययनको निष्कर्ष छ ।

आईबीएमले त २०२४ मै करिब ७ हजार ८ सय पदहरू (कार्यालयमा आधारित काममध्ये ३० प्रतिशत) एआईद्वारा स्वचालित गर्ने योजना बनाइसकेको थियो । एआईपीआरएम अध्ययनले ३७ प्रतिशत कम्पनीले क्रमशः केही पदहरू एआईद्वारा प्रतिस्थापन गर्दै लगेको जनाएको छ । त्यस्तै, ४४ प्रतिशत कम्पनीले आगामी वर्षहरूमा कर्मचारीको सट्टा एआई भर्ती गर्ने योजना बनाएको उल्लेख गरेको छ । माइक्रोसफ्ट, गुगल, अमेजनजस्ता ठूला प्रविधि कम्पनीले पनि विस्तारै पुराना शैलीका कर्मचारी भर्तीलाई पूर्ण वा आंशिक रूपमा एआईमा आधारित बनाउँदै लाने योजना सुनाउँदै आएका छन् ।

आगामी केही वर्षमा फिलिपिन्सका झन्डै ५० लाख कर्मचारी एआई क्षेत्रको उभारका कारण विस्थापित वा प्रभावित हुने अध्ययनहरूले देखाएका छन् । अमेरिकाका झन्डै ८० प्रतिशत कामदारको कार्यक्षेत्रमा एआईले सानो वा ठूलो रूपमा असर गर्ने ब्लुमबर्गको अध्ययन छ ।

माइक्रोसफ्टको एक सर्वेक्षणले सूचना प्रविधि क्षेत्रमा उल्लेख्य रूपमा आश्रित भारतको ठूलो युवा जनशक्तिमध्ये झन्डै ७४ प्रतिशतलाई एआईका कारण आफ्नो रोजगारी गुम्ने चिन्ता रहेको देखाएको थियो । विश्व आर्थिक मञ्चकै प्रतिवेदनले पनि २०३० सम्ममा एआईका कारण लगभग १७ करोड नयाँ रोजगारीका अवसर सिर्जना हुने र झन्डै १० करोड अहिलेका रोजगारलाई एआईले पूर्णतः प्रतिस्थापन गर्ने प्रक्षेपण गरेको छ ।

एआईको पछिल्लो छलाङले चीन, भारत, जर्मनी, जापान, दक्षिण कोरियासँगै अमेरिकाको झन्डै अढाई करोड रोजगारमा असर पार्ने र त्यसको ठूलो संख्यालाई विस्थापनसमेत गर्ने देखाएका छन् । अमेरिकामा मात्रै झन्डै ४ करोड रोजगारीलाई एआईको बढ्दो प्रयोगले यही वर्ष आंशिक वा पूर्णरूपमा असर गर्ने दाबी गरिएको छ । ठूला प्रविधि र वित्तीय कम्पनीहरूले जनशक्तिको विकास र विस्तारसम्बन्धी आफ्ना रणनीतिमै पुनर्विचार गरिरहेकाले यी अध्ययनको अनुमानमा विश्वास गर्ने प्रशस्त ठाउँ देखिन्छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ