10/03/2025, 06:46:15
शुक्रबार, असोज १७, २०८२

वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट


काठमाडौँ, २४ माघः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग संयुक्त राष्ट्रसङ्घ नेपालका आवासीय संयोजक हाना सिङ्गर हाम्दीले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच वन तथा वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा कुरा भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री शाहीले परराष्ट्र मन्त्रालय र वन मन्त्रालयले आयोजना गर्न लागेको सगरमाथा संवाद उच्चस्तरको कार्यक्रम भएको जनाउँदै त्यसमा संयुक्तराष्ट्र सङ्घको सहयोगको अपेक्षा गर्नुभएको थियोे । मन्त्री शाहीले जलवायु, जैविक विविधता र मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराउनुभएको थियो ।

सो अवसरमा आवासीय संयोजक हाम्दीले वन मन्त्रालयले पछिल्लो पटक राम्रो काम गरेको बताउँदै मन्त्रालयले अन्तरराष्ट्रिय मञ्चहरुमा महत्वपूर्ण ‘एजेन्डा’ उठाएको उल्लेख गर्नुभएको थियो । नेपालले पर्वतीय र जलवायु परिर्वतनका एजेन्डा उठाएर राम्रो काम गरेको उहाँको भनाइ थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..