04/03/2025, 03:21:17

विकासका लागि विज्ञान र प्रविधि आवश्यक : उपप्रधानमन्त्री सिंह


काठमाडौँ, २४ माघः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताउनुभएको छ ।

बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको १३औँ विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उहाँले आगामी दिनमा शिक्षा नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्ने बताउनुभयो । “विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी हुनेछ, हाम्रोजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी छ,” उपप्रधानमन्त्री सिँहले भन्नुभयो ।

राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उहाँको भनाइ छ । उपप्रधानमन्त्री सिंहले विद्यार्थीले सैद्धान्तिक ज्ञान र सीपलाई व्यावहारिक बनाउन यस्ता प्रदर्शनीले मद्दत पुग्ने बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक, जीवनपयोगी, अनुसन्धनात्मक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । कलेजका अध्यक्ष वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास विना कुनै आविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापनाकालदेखि विज्ञान र प्रविधिलाई जोड दिँदै आएको बताउनुभयो ।

आजदेखि सुरु भएको प्रदर्शनीमा निजी तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीका तर्फबाट ६० भन्दा बढी स्टल राखिएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..