सोमबार, माघ २१, २०८१

जापानमा निगमको वाइडबडी विमानको पांग्रा पन्चर, २ सय ६१ यात्रु नारितामा अलपत्र


काठमाडौँ, २१ माघ :  नेपाल वायुसेवा निगमको वाइडबडी विमानको पांग्रा पन्चर हुँदा नेपाल आउन लागेका २ सय ६१ यात्रु जापानको नारितामा अलपत्र परेका छन् । सोमबार नारिता विमानस्थलबाट काठमाडौं फर्कनै लाग्दा अन्नपूर्ण वाइडबडी (अल्फा लिमा याङ्की)को पांग्रा पन्चर भएको हो ।

एप्रोनबाट धावनमार्गमा जाँदै गर्दा बायाँतर्फको ल्यान्डिङ गियरको पांग्रा पन्चर भएको थियो । उक्त विमान आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ९२ यात्रु लिएर जापान उडेको थियो ।

निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साहले निगमको जापानमा स्थानिय एमआरओ एजेन्ट नभएकाले अरु विदेशी वायुसेवा कम्पनीमार्फत जगेडा पांग्रा खोजेर चाँडै जहाज काठमाडौं फर्काउने प्रयास भइरहेको बताए । यो आरए-४३४ उडान नम्बर रहेको विमान हो । जापानको स्थानीय समयअनुसार बिहान ९:२५ बजे त्यहाँबाट उडेर काठमाडौंमा दिउँसो ३ बजे अवतरण हुनुपर्ने थियो ।

पन्चर भएको पांग्रा हटाएर नयाँ राख्नुपर्ने भएपछि निगमको जापानमा रहेको स्टेसनका कर्मचारीले त्यहाँ उडान गर्ने थाई र सिंगापुर एयरलायन्ससँग निगमको वाइडबडीलाई मिल्ने पांग्राको खोजी गरेका थिए । थाईसँग पांग्रा भएको तर फेर्ने उपकरण नभएकाले निगमले सिंगापुर एयरलायन्ससँग पांग्रा मागेर मर्मत भइरहेको निगमका एक उपनिर्देशकले बताए ।

नारिताबाट काठमाडौंको उडान अवधि करिब ९ घन्टा लाग्छ । अब उताबाट जहाज उड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधार विस्तारका लागि बन्द भइसक्ने भएकाले मंगलबार मात्रै वाइडबडी फर्किने छ । उक्त विमानका सबै यात्रुलाई तीन वटा होटलमा राखिएको प्राविधिक प्रवक्ता साहले बताए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading