आइतबार, माघ २०, २०८१

सूर्यविनायक–धुलिखेल सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेपछि सरोकारवाला निकायको अनुगमन


भक्तपुर, २० माघः अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेपछि आज सरोकारवाला निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । विसं २०७९ पुस २४ गतेदेखि भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेको साँगाबाट धुलिखेलसम्म गरी दुईखण्डमा एकैसाथ आयोजनाले सडक विस्तार सुरु गरेको थियो ।

भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण तीव्रगतिमा अगाडि बढाउने र सडक बन्द गर्ने सवालमा हुने असरबारे जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा आयोजनादेखि भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुको टोलीले अनुगमन गर्नुभएको हो ।

प्रजिअ अर्याल र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको नेतृत्वमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापा, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जू, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपाने, भक्तपुर र काभ्रेपलाञ्चोकका ट्राफिक प्रहरी प्रमुखहरू तथा सम्बन्धित वडाअध्यक्षहरूलगायतको टोलीले सडक निर्माणको अनुगमन गर्नुभएको हो ।

सडक विस्तारका क्रममा सडकका विभिन्न खण्डको निरीक्षण गर्दै ‘जिओ ग्रिडिङ’ प्रविधि प्रयोग गरिने स्थानबारे प्राविधिक जानकारीसमेत टोलीले लिएको थियो । सडक निरीक्षणका क्रममा टोलीले सडक निर्माणले थोरै मात्रामा यातायातमा असर पार्ने गरी काम अघि बढाउन आयोजनालाई सहमति दिएको प्रमुख जिल्ला अधिकार अर्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading