आइतबार, माघ २०, २०८१

निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा माधव नेपालको जोड


चन्द्रपुर (रौतहट), १९ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य भएको उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले निजगढ–काठमाडाैँमा ‘फास्ट ट्र्याक’को निमार्णका साथसाथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउनका पहल गरिरहेको भन्दै उहाँले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।

स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने भन्दै दीर्घकालीन समाधान गर्न केन्द्रीय स्तरबाट नीतिगत रूपमा समाधान गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिनुभयो । सीमा समस्या समाधानका लागि जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको उहाँको भनाइ थियो । अध्यक्ष नेपालले दुवै देशका नागरिकहरूको हित हुनेगरी सरकारले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशसभाका सांसद सदस्य नागेन्द्र साह, भारतका रिगा विधानसभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

मिडिया फर बोर्डर हार्मोनी रौतहटका अध्यक्ष किशोरीराय यादवको अध्यक्षतामा भएको संवाद कार्यक्रममा हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सीमा क्षेत्रका जिल्लाहरूमा बसोबास गर्ने नेपाल र भारतका जनताले भोग्दै आएका समस्यालाई समाधान गर्न १७ बुँदे साझा माग प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनी नेपाल र भारतका प्रतिनिधि, नेपाल र भारतका सञ्चारकर्मीसहित स्थानीयको सहभागिता थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading