आइतबार, माघ २०, २०८१

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार !


धुलिखेल, १९ माघ : काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आउनुभएको छ । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उहाँ बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य हुनुहुन्छ ।

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उहाँहरू विचल्लीमा परेका हुन् ।

भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन् । अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताउनुभयो ।

त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइरहनुभएका अर्का सुकुमाया सिङतानको पीडा पनि कम छैन । भएको सबै अन्नपात र घर खेत बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहनुभएका उहाँले बाढीपहिरोबाट आफूहरू विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको बताउनुभयो ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँका बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले दिएको त्रिपाल खाद्यान्न र ओढ्नका लागि कम्बललगायतको सामग्री उपलब्ध गराएपछि त्यसैको साहरामा दिन बिताउँदै आएको उहाँहरूको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका प्रकाश सिङतानलगायत भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको मुस्लो पसेको चनौटे बस्ती हेर्दै खुल्ला आकाशमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन् ।

बर्खामा बाढी आएर बगाउँला कि भन्ने पीर, अब हिउँद लागेपछि हावाहुरीले उडाउने पो हो कि भन्ने पीरले सताउन थालेको उहाँहरूले बताउनुभयो । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।

अहिलेको अवस्थामा सरकारले घर बनाउन बजेट दिएपछि उहाँहरूसँग एक टुक्रा पनि आफ्नो भन्ने जमिन छैन”, अध्यक्ष थिङले भन्नुभयो, “जिल्ला प्रशासन र सहरी विकास तथा भवन विभागबाट जग्गाको व्यवस्थापन कस्तो छ भनेर पत्र आएपछि हामीले सामुदायिक वन क्षेत्रभित्र पर्ने तर रूख बिरूवा केही नभएको खाली जग्गा विकल्पमा हुनसक्छ भनेर सुझाव लेखेर पठाएका छौँ ।

अहिलेसम्म पनि सङ्घीय सरकारको अस्थायी घर निर्माण गर्न दिने भनेको रू ५० हजार र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि सङ्घ संस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ । पालिकाभित्र ५० घरधुरी पूर्ण क्षति भएकामा ती घरपरिवारको लागि पनि कुनै व्यवस्थापन गर्न नसकेको अध्यक्ष थिङले बताउनुभयो ।

गाउँले जीवन, सम्पत्तिको नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, अन्न उब्जाउ गर्ने बारी र खेत सबै बगाएपछि चनौटेका बस्ती नै विस्थापित भएको छ । जहाँ विद्यालयमा अध्ययनरत बालबालिका रहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading