शुक्रबार, माघ १८, २०८१

कैलालीको सेती राजमार्गअन्तर्गत बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु


घोडाघोडी (कैलाली), १८ माघः सुदूरपश्चिम प्रदेशमा गौरवको आयोजनाका रूपमा रहेको सेती राजमार्ग अन्तर्गत कैलालीको बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे चार किलोमिटर दक्षिणतर्फ ‘कङ्क्रिट वाल’, नाली तथा सडक भरानको काम आजदेखि सुरु भएको हो ।

चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्नेगरी रु छ करोड १५ लाख लागतमा निर्माण सुरु भएको हो । एक हजार एक सय मिटर पक्की नाला, सडकको दुवैपट्टि दुई हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किमी सडक भरानको काम हुने बौनियाँ–टीकापुर सडक निर्माण आयोजना कार्यालयले जनाएको छ ।

आज यहाँ सडक निर्माणको शुभारम्भ गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधिभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । “सेती राजमार्ग निर्माण लामो समयदेखि ढिला भइरहेको छ, यसलाई यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनी लाग्नुपर्छ, स्थानीय तह आवश्यक समन्वय र सहकार्य गर्न तयार छ”, उहाँले भन्नुभयो ।

अध्यक्षले राजमार्गअन्तर्गत पर्ने बर्दगोरिया गाउँपालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भइसकेको भन्दै अर्को पुल केही महिनामा सम्पन्न हुने जानकारी दिनुभयो । “सेती राजमार्गमा सुविधासम्पन्न सडक बन्नु भनेको सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्नु हो । त्यसैले पनि हामीले सबै समयमा काम सम्पन्न गर्न/गराउन समन्वय गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

यही खण्डअन्तर्गत दुर्गौली–प्रतापपुर १० किमी सडक कालोपत्रको काम पनि भइरहेको अध्यक्ष कुँवरले बताउनुभयो । कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा तीन किमी सडक मात्र ट्रयाक खोल्न बाँकी रहेको भन्दै उक्त ट्रयाक खुलेमा टीकापुर–खिमडी–ठुलीगाड सिधा यातायात सम्पर्कमा जोडिने उहाँले उल्लेख गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading