बिहिबार, माघ १७, २०८१

नेवारी परिकार : धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण !


मलेखु (धादिङ), १६ माघः नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ । समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।

महोत्सवको मञ्च नजिकै झिङ्गु नेवाः समाज धादिङले सञ्चालन गरिरहेको नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’ मा रम्नेहरूको घुइँचो देखिन्छ । स्टलमा खटिएर स्वाद चखाउँदै गर्नुभएका हरिकुमार श्रेष्ठले भन्नुभयो, “यहाँ आइपुग्नुहुने सबैले नेवारी खानेकुरा चाखौँ न भन्नुहुन्छ, व्यापार सोचेभन्दा धेरै नै राम्रो छ ।” महोत्सवमा अन्य खाजाका परिकार खुवाउने स्टल भए पनि मौलिक स्वाद लिन खोज्ने ग्राहक नेवारी खाजा स्टलमा आइपुग्ने गरेका उहाँले बताउनुभयो ।

एकपटक स्वाद चाखेर फर्किएका अर्को पटक परिवारलाई लिएर आउने गरेका झिँगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेवारी परिकार अन्य खाना, खाजाको भन्दा फरक स्वाद हुने भएकाले पनि अवलोकनमा आइपुग्नेको रोजाइमा परेको उहाँको भनाइ छ ।

नेवारी परिकार धादिङका बजारमा सहजै नपाइने र पाइए पनि नाम मात्रैका हुन्थये”, गल्छी गाउँपालिका–८ बाट महोत्सव अवलोकनमा आउनुभएका कान्छोनारायण श्रेष्ठले भन्नुभयो, “यहाँ आउँदा अर्गानिक नेवारी परिकारका स्वाद खान पाइयो ।

सुरुका दिनमा खासै चहलपहल नभए पनि दोस्रो तेस्रो दिनदेखि भ्याइनभ्याइ भएको व्यापारी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने ग्राहकले अन्य परिकारको तुलनामा यमरी सबैभन्दा बढी मन पराइदिनुभएको छ ।” हेर्दा ममः जस्तै लाग्ने तथा ममः पकाउने भाँडोमा उसिनेर तयार पारिने योमरी बनाउन निक्कै समय खर्चिनुपर्ने उहाँको भनाइ छ ।

सयौँ वर्षदेखि योमरी पुन्हीका दिन नेवार समुदायले योमरी बनाई खाने प्रचलन भए पनि विस्तारै बजारमा योमरी बनाई बेच्ने चलन आएपछि अरु समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो । अध्यक्ष श्रेष्ठका अनुसार दैनिक रु ७० हजारदेखि ८० हजारसम्म कारोबार हुने गरेको छ ।

नेवारी खाजाको प्रचारप्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजका अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेवारी खाजा सदरमुकामवासीका लागि नयाँ परिकार नभए पनि जिल्लाका गाउँबस्तीबाट आएकाको लागि भने नौलो खाजा बन्न पुगेको छ ।

पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । केही समय अगाडि सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय गजुरीले नेवारी परिकार बनाउने तालिम उपलब्ध गराएपछि सदरमुकाम धादिङबेँसीमा नेवारी खानाको परिकारको लोकप्रियता अझ बढेको हो”, उहाँले भन्नुभयो ।

गत मङ्सिर २९ र ३० गते धादिङबेँसीमा झिगु नेवाः समाजले प्रथम धादिङबेँसी सडक नेवा खाना उत्सव आयोजना गरेर सदरमुकामवासीलाई नेवारी खानाको स्वाद चखाएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading