बिहिबार, माघ १७, २०८१

समावेशी आधारमा न्यायाधीश नियुक्ति गर्नेछौँ : कानुनमन्त्री चौरसिया


काठमाडौँ, १६ माघः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समावेशी आधारमा न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउनेमा बताउनुभएको छ ।

नेपाल बार एशोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आज यहाँ आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले न्यायाधीश नियुक्तिको क्रममा समावेशी आधारलाई जोड दिने उल्लेख गर्नुभयो ।

मन्त्री चौरसियाले युवा कानुन व्यवसायीहरूको पेसागत सुरक्षा र हकहितका लागि काम गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । “न्यायिक सुधारका लागि कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ, कानुन व्यवसायीको मानमर्दन हुने काम बन्द हुनुपर्छ”, उहाँले भन्नुभयो, “साथै कानुन व्यवसायीमाथि हुने हातपात पनि बन्द गरिनुपर्छ ।

उहाँले लोकतान्त्रिक व्यवस्था लागू गर्न कानुन व्यवसायीको भूमिका उल्लेख्य रहेको भन्दै मुलुकको व्यवस्था सुधारमा कानुन व्यवसायीहरू अग्रपङ्क्तिमा रहेर सरकारलाई सहयोग गरिरहेका बताउनुभयो । सुशासन, पारदर्शी, कानुनी शासन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले विशेष गरी युवा वकिलहरूको पेसागत सुरक्षामा चुनौती देखिएको भन्दै पेसागत सुरक्षाका लागि नेपाल बार एशोसिएसनले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । “युवा कानुन व्यवसायीलाई पेसागत सुरक्षाको चुनौती छ, यो समस्या समाधान गर्न बार एशोसिएसनले पहल गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “युवाहरूले पनि आफ्नो बहसलाई सशक्त बनाउनका लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन व्यवसायीको क्षमता अभिवृद्धिका लागि ‘लयर एकेडेमी’को परिकल्पना गरिएको बताउनुभयो । अदालतभित्र हुने भ्रष्टाचार अन्त्य गर्न सबै सक्रिय रूपमा लाग्न उहाँले सुझाव दिनुभयो ।

महासचिव अञ्जिता खनालले राजनीतिक आस्थाको आधारमा बारको सदस्यता वितरण गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “३३ प्रतिशत कानुन व्यवसायी जो कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुन्न । उहाँहरूले बारको सदस्यता पाउन सक्नुभएको छैन । आगामी दिनमा ती सबैलाई बारको सदस्यता वितरणका लागि पहल गर्नेछौँ ।” सबै क्षेत्रमा न्यायिक पहुँच पुर्‍याउनका लागि न्यायालय पनि विकेन्द्रीकरण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading