04/20/2025, 04:38:48

मोरङको पथरी शनिश्चरे नगरपालिकामा विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण


पथरी (मोरङ), १४ माघ : यहाँको पथरी शनिश्चरे नगरपालिका–२ ले रासन कार्ड र रासन वितरण सुरु गरेको छ । वडाभित्रका २० विपन्न परिवारको पहिचान गरी वडा कार्यालयले रासन कार्डसहित रासन वितरण सुरु गरेको हो ।

समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार बनाउन वडाले प्रयास गरेको उक्त वडाका वडाध्यक्ष नैना राईले बताउनुभयो । वडाध्यक्ष राईले भन्नुभयो, “जनताले पाउनुपर्ने अति आवश्यक गासँबास र कपासलाई सुनिश्चित गर्न यो वर्षदेखि वडाले वार्षिक बजेट विनियोजन गरी रासन कार्ड र रासन वितरण गरेका हौँ ।

कार्डको आधारमा प्रत्येक महिनाको ३ गते वडाबाटै रासन वितरण हुने वडा कार्यालयले जनाएको छ । वडाले अर्को वर्षदेखि बजेट थप गरी थप विपन्न परिवारमा सेवा विस्तार गर्ने योजना बनाएको छ । वडाले वडावासीवाट छनौट गरी २० परिवारलाई पहिलो चरणमा १० देखि २० केजीसम्म चामल प्रदान गरेको छ । अर्काे वर्षवाट भने दाल, चामल र अन्य उपभोग्य सामग्री वितरण गर्ने योजना वडाको छ ।

वडाका कुनै नागरिक भोकै बस्नु नपरोस् भनेर रासन कार्डको व्यवस्था गरिएको वडाअध्यक्ष राईले बताउनुभयो । रासन कार्ड यही माघदेखि लागू गरिएको हो । वडाले यस वर्षका लागि रु एक लाख बजेट विनियोजन गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..