बिहिबार, माघ १७, २०८१
भाषा लिपि मौलिक संस्कृति तामाङको पहिचान, उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान

संस्कृति संरक्षणका लागि बेँसीसहरमा सांस्कृतिक उत्सव


लमजुङ, १२ माघः तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि तामाङ सांस्कृतिक उत्सव आयोजना गरिएको छ । ‘भाषा लिपि मौलिक संस्कृति तामाङको पहिचान, उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ तामाङ समुदायको नयाँ वर्ष २८६१औँ सोनाम ल्होसारका अवसरमा आज लमजुङमा रहेका तामाङ समुदायले बेँसीसहर नगरपालिका–८ फूलबारी मञ्चमा सांस्कृतिक उत्सव मनाएका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमराज तामाङले तामाङ समुदायको वर्गचक्रअनुसार डुल ल्हो (नाग वर्ग) का अवसरमा सांस्कृतिक उत्सव कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विभिन्न ठाउँमा छरिएर रहेका तामाङ समुदायलाई एक ठाउँमा जम्मा गरी एकता र भ्रातृत्वका लागि सांस्कृतिक उत्सव आयोजना गरिएको उहाँको भनाइ छ । “तामाङ भाषा, संस्कृृति बिस्तारै हराउँदैछ । यसको जगेर्ना गर्न उत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “उत्सवबाट मौलिक संस्कृतिको प्रवद्र्धन र प्रचार भएको छ ।

यसप्रकारका कार्यक्रमले तामाङको भाषा, कला र संस्कार संस्कृतिको जगेर्ना गर्न सहयोग पुगेको उहाँको भनाइ छ । उहाँका अनुसार सामान्यतया मान्यजनबाट आशीर्वाद लिने, आफन्तसँग भेटघाट गरी मीठा परिकार खाने खुवाउने र नाचगान गरी ल्होसार मनाउने गरिन्छ । सो सांस्कृतिक उत्सव कार्यक्रममा तामाङ समुदायको परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको वेशभूषा, बाजागाजा, बोम्वो, ताम्वा, लामा र गन्वा नाच प्रदर्शन गरिएको थियो ।

त्यस्तै, उत्सवमा तामाङ समुदायमा प्रचलित परम्परागत झाँकी प्रदर्शन, स्थानीय तथा तामाङ मिस २०२४ का विजेता रिया लामा तथा राष्ट्रिय तामाङ कलाकारको प्रस्तुति थियो ।

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले सो उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सबै जातजातिको संस्कृति र पहिचान जोगाउन गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै, प्रदेश सरकार अधुरा योजना र जनताको चाहनाका विकास गर्न लागेको उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल, टीका बस्याल, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्य गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उर्गेन दोङले माया मीठो मीठो, सइया, लजालु मायालु, तामाङ दाइ, हाबी, दुई दिनको मायालगायतको गीत प्रस्तुत गर्नुभयो । त्यस्तै, लक्ष्मी तामाङ, प्रशान्त तामाङ, विशाल तामाङलगायतका कलाकारले पनि प्रस्तुति दिनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading