बुधबार, माघ ०९, २०८१

ऐन संशोधन गर्न बनेको अध्यादेश कोशी प्रदेशसभाको सदनमा पेस


विराटनगर, ७ माघ : कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ पेस भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो अध्यादेशसँगै मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्ताव गर्दै प्रदेश सरकारले गर्ने मानवीयदेखि अन्य कामलाई सहज बनाउन यो ऐन ल्याएको बताउनुभयो । उहाँले सरकारले विपद्का क्षेत्रमा धेरै काम गर्नु पर्ने र मौजुदा ऐनमा भएको त्रुटिले काम गर्न समस्या भएकाले सो अध्यादेश ल्याएको जानकारी दिँदै सरकार शान्ति सुरक्षाका विषयमा गम्भीर छ भन्नुुभयो । मन्त्री भण्डारीले पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि भएको दुव्र्यवहारको घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने बताउनुभयो ।

सभामा सभामुख अम्बरबहादुर विष्टद्वारा सदनमा अनुमोदनका लागि पेस गरिएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा सन्तुलन कायम नभएकाले कार्यान्वयनमा समस्या आएको उल्लेख गर्दै सरकारले यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूमाथि भएको आक्रमण सुनियोजित नभएकाले कारबाही नगर्न प्रदेश सरकारलाई आग्रह गर्नुुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले सरकारले हिउँदे अधिवेशन उचित समयमा सुरु गरेको बताउनुभयो । उहाँले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सङ्कल्प पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकार उदासीन छ भन्दै सालबेसाली र बहुवर्षीय योजनाका ठेक्का अहिलेसम्म नलाग्नु दुःखद हो भन्नुभयो । उहाँले अधिवेशनको सफलताको कामना गर्दै बाढीका कारण भत्किएका संरचना निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र नेपाल समाजवादी पार्टी नेपालका संसदीय दलका नेता निर्मला लिम्बूले मुलुकको समसामयिक विषयमा धारणा राख्दै अधिवेशन सफलताको कामना गर्नुभएको थियो । अर्को बैठक मङ्गलबार बिहान ११ः३० मा बस्नेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading