आइतबार, माघ ०६, २०८१

भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’


भोजपुर ५ माघ : भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।

पिउने पानीको समस्या रहेका यहाँका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । आर्थिका वर्ष २०८०/८१ मा वडाको बजेटबाट रू दश लाख विनियोजन गरेर दुई सय १६ घर र यसअघि निर्माण भएका धारासहित चार सय ६८ घरमा पानी सञ्चालन गरिएको उहाँको भनाइ छ । वडामा अभियान सञ्चालन गरेर पानी वितरण गरिएपछि स्थानीयको पानीको समस्या हटेको उहाँको भनाइ छ ।

हामीले यहाँका स्थानीयको पानीको समस्या समाधानको लागि अभियान सञ्चालन गरेर पानी वितरण गरेका छौँ”, वडाध्यक्ष थापामगरले भन्नुभयो, “यहाँका सबै घरमा शुद्ध पिउने पानी पुर्‍याउन सफल भएका छौँ । यसले स्थानीयको वर्षौंदेखि पानीको समस्या समाधान भएको छ ।” वडाले अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पुर्‍याएपछि स्थानीयवासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौंदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी कल्पना भट्टराईले बताउनुभयो । अब भने पानीको जोह गर्नको लागि घण्टौँ समय बिताउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उहाँले भन्नुभयो, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्नुपर्ने अवस्था थियो । वडाको पहलमा घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।” घरमा धारा नहुँदा तीन धारा भन्ने स्थानबाट डोको बोकेर पानीको जोह गर्दै आएको स्थानीयवासी सरस्वती भट्टराईले बताउनुभयो । घरको आँगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसाबारीमा प्रयोग गर्दै आएको उहाँको भनाइ छ । “विगतमा पानीको जोह गर्न डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीलाई सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।

धारा जडानसँगै स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी जन्य रोगबाट बच्नको लागि वडाले एक घर एक फिल्टरको अभियान सञ्चालन गरेर फिल्टर पनि वितरण गरिएको वडासदस्य टेकराज भट्टराईले बताउनुभयो । त्योसँगै स्थानीयलाई आवश्यकताको आधारमा वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । “यहाँका सबै स्थानीयको घरमा धारा पुगेको अवस्था छ”, उहाँले भन्नुभयो, “पानीजन्य रोगबाट बच्नको लागि स्थानीयलाई फिल्टर पनि वितरण गरिएको अवस्था छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading