बिहिबार, माघ ०३, २०८१

मोरङ शनिश्चरेमा सलहेस मन्दिर निर्माण अधुरै, पासवान समुदाय आक्रोसित


पथरी (मोरङ), ३ माघः पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन । मन्दिर निर्माणको काम अधुरै रह्यो । पाँच वर्षदेखि त्यो काम ठप्पै छ ।

हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोसित छ । स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गर्नुभयो ।

मन्दिर निर्माणका लागि जग्गादान गर्नुभएका दिलीप पासवानले सलहेसको मन्दिर गाउँमै बनेपछि कुलपित्री र देवीदेवताको पूजापाठ हुने भनेपछि आफूले जग्गा दिएको स्मरण गर्नुभयो । जग्गा दिए पनि मन्दिर निर्माणलाई प्राथमिकता नदिएकामा आफूलाई नरमाइलो लागिरहेको उहाँको भनाइ छ । “सहलेस हाम्रो आस्थाको देउता हुन् । गाउँमै मन्दिर बन्ने र पासवान समुदाय नै लाभान्वित हुने भनेपछि जग्गा दिएको थिए तर मन्दिर निर्माण गर्ने आफ्नो सामथ्र्य छैन । अरुले सहयोग नगरेपछि निर्माण सुरु भएको मन्दिर पनि अलपत्र छ”, दिलीपले भन्नुभयो ।

मन्दिर निर्माण समितिका सचिव सञ्जय पासवानले आर्थिक अभावकै कारण काम अगाडि नबढेको सुनाउनुभयो । यहाँ २५/३० पासवान परिवारको बसोबास छ । पूजापाठका लागि अफ्ठ्यारो भयो भनेर गुनासो गर्दा पनि कसैले सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो ।

यहाँ विसं २०५४ मै मन्दिर निर्माणको योजना बनाइएको थियो । सोही योजनाअनुसार स्थानीय जोगिलाल पासवान र दिलीप पासवानले त्यसै वर्ष एक कट्ठा जग्गादान गर्नुभएको थियो । त्यसयता पटकपटक पहल गर्दा पनि मन्दिर निर्माण हुनसकेन । विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि काम सुरु भएको थियो । नगरको सहयोग र स्थानीय पासवान समुदायले रकम सङ्कलन गरेको रकमबाट मन्दिरको पिल्लर र छतसम्म निर्माण भयो तर बाँकी काम अगाडि बढ्न सकेको छैन । स्थानीय गुणबहादुर खड्काले सानो मन्दिर पनि वर्षौसम्म नबन्नु राम्रो नभएको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading