काठमाडौँ, १ माघः अतिवादी हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहनुभएको छ । यसै क्रममा उहाँले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गर्नुभयो । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।
परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । उहाँले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले जोशीको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गर्नुभएको थियो ।
परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार प्रत्युत्तरमा कतारी विदेशराज्यमन्त्रीले युद्धविराम र उहाँले नेपाली युवकको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा जोशी अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको जानकारी मन्त्री देउवालाई दिनुभयो ।
यसअघि परराष्ट्रमन्त्रीले इजिप्ट सरकारलाई पनि जोशीको रिहाइमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि प्रयासरत छ । गत हप्ता पनि उहाँले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










