आइतबार, पुष २८, २०८१

संसद् नबोलाएर अध्यादेशमार्फत कानुन बनाउँदा प्रश्न उठ्यो : एनपी साउद


२८ पुस, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले कांग्रेस र एमाले सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन् । रिपोर्टस क्लब नेपाल, बुटवल मा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले सरकार बहुमतको हुँदा पनि संसद् बैठक नचलाएर अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको बताएका हुन् ।

ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए । ‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरू नगरेको गुनासो गरे । उनले दुई दलबीचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न सुझाव दिए ।

नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्छ,’उनले भने ।

संविधान संशोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्ने गरी संशोधन गर्ने बेला आएको जवाफ दिए । उनले भने, ‘हरेक १० वर्षमा संविधानका कुराहरू परिवर्तन गर्नु आवश्यक छ । संविधान संशोधन परिमार्जनको कुरा सर्वस्वीकृत बनाउनुपर्छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading