आइतबार, पुष १४, २०८१

जनहितका पक्षमा काम गर्न एमाले प्रतिबद्ध छः महासचिव पोखरेल


महोत्तरी, १३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनहितका पक्षमा काम गर्न एमाले प्रतिबद्ध रहेको बताउनुभएको छ । आज महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो एकदशकमा मधेशको विकासमा एमालेले योजनबद्ध रूपमा काम गरिरहेको बताउनुभयो ।

गत आम निर्वाचनमा मधेशका कूल प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा बढी सिट एमालेले पाएको सम्झना गर्दै यहाँका नागरिकले पार्टीले गरेको कामको उचित मूल्याङ्कन गरेर मतदान गर्नुभएको महासचिव पोखरेलको भनाइ छ ।

मधेशमा कैयौँ वर्षदेखि हुलाकी सडकको काम अलपत्र थियो, एमाले नेतृत्वको सरकारले यसलाई गति प्रदान ग¥यो, अहिले हुलाकी सडकको कामले निकै फड्को लगाइसकेको छ”, उहाँले भन्नुभयो, “मधेशका जनताको जीवनस्तर उकास्ने पार्टीले योजनाबद्ध रूपमा काम गरिरहेको छ ।

एमाले नेतृत्वको सरकार रहेका बेला मधेशका कतिपय रुग्ण अवस्थामा रहेका आयोजना सम्पन्न भएका र कतिपयमा काम भइरहेका महासचिव पोखरेलले बताउनुभयो । महोत्तरीको सन्दर्भमा जलेश्वर नगरको आधुनिक विकास, जलेश्वर–रामगोपालपुर–बर्दिबास सडकको स्तरोन्नति र जयनगर बर्दिबास रेल्वेको कामले एमाले नेतृत्वको सरकारका समयमा भएको उहाँको भनाइ छ ।

मधेशमा भएका कामको लेखाजोखा गरेर जनताले एमालेप्रति विश्वास बढाएका पोखरेलले बताउनुभयो । “गत आमनिर्वाचनमा जनताले महोत्तरीमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यलाई प्रत्यक्ष निर्वाचनमा पजताउनुभएको थियो”, उहाँले भन्नुभयो, “हालै सम्पन्न स्थानीयतह उपनिर्वाचनमा यहाँ एकमात्र वडामा भएको निर्वाचनमा पनि जनताले एमालेलाई रोज्नुभएको छ ।” यो विश्वासको जग अझ मजबुत बनाउँदै आगामी २०८४ को निर्वाचनमा एमालेलाई बहुमत दिन उहाँले जनतासमक्ष आग्रह गर्नुभयो ।

जनसभामा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल र केन्द्रीय सदस्य एवं मधेश सरकारमा भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले पछिल्लो समय मधेशमा योजनाबद्ध कामको थालनी भएको बताउनुभयो ।

नेकपा (एमाले)का महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवको अध्यक्षतामा सम्पन्न सभामा एमाले प्रवेश गर्ने व्यक्तिहरूलाई महासचिव पोखरेलले स्वागत गर्नुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading