आइतबार, पुष १४, २०८१

हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ : राष्ट्रियसभाका अध्यक्ष दाहाल


काठमाडौँ, १३ पुस : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताउनुभएको छ । ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उहाँले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको छ भन्नुभयो ।

नेपालजस्तै हिमाली देशका लागि पनि यस्ता अभियान विशेष महत्वका छन्, धार्मिक सहिष्णुता, आन्तरिक शान्ति र मानवताका लागि समर्पित जीवन जीउने प्रेरणाका लागि ड्रुक्पा परम्पराको योगदान विशेष रहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले लैङ्गिक समानताको प्रवद्र्धन, पदयात्रा र साइकल यात्रामार्फत वातावरणीय अनुकूल र दिगो जीवनशैलीप्रति सचेतना जगाउने, सरसफाइ अभियान आयोजना र सबै प्राणीको हितका कार्यमा ड्रुक्पा परम्पराको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले दसौँ वर्षमा प्रवेश गरेको वार्षिक ड्रुक्पा परिषद् ड्रुक्पा परम्पराको समृद्ध विरासत र यसको विश्वव्यापी प्रभावको उत्सवका रुपमा रहेको बताउनुभयो । उहाँले परिषद् विभिन्न पृष्ठभूमिका मानिसलाई एकसाथ ल्याउने, सम्बन्ध गाँस्ने र प्रेरणा लिने मञ्च बनेको जनाउनुभयो ।

ड्रुक्पा परम्पराले विश्वभरि शान्ति, सहिष्णुता र दयाभावको सन्देश फैलाउँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले यस परम्पराले आफ्नो धार्मिक शिक्षाबाट मात्र नभई पर्यावरणीय संरक्षण, सामाजिक सेवाभाव र मानव कल्याणको भावना संसारभरि फैलाउन भूमिका खेलेको बताउनुभयो । “यो सभाले ड्रुक्पा समुदाय र यससँग सम्बद्ध सम्पूर्ण अनुयायीका लागि आगामी कार्यक्रमका साथै मार्गदर्शन गर्नेछ”, उहाँले भन्नुभयो, “धार्मिक शिक्षा र अभ्यासलाई प्रोत्साहित गर्ने मात्र नभई यस सभाले आधुनिक समाजका चुनौतीसँग जुध्न सक्ने व्यावहारिक समाधानका उपाय पनि प्रस्तुत गर्नेछ ।

भुटानका गृहमन्त्री लोन्पो छिरिङले आध्यात्मिक जागरण फैसालउनुका साथै लैङ्गिक समानता वातावरण संरक्षण, वृक्षरोपण, वातावरणीय सचेतना फैलाउन काउन्सिलले लिएका पहल सह्रानीय रहेको छ भन्नुभयो । नेपाल बौद्ध सङ्घका अध्यक्ष खेन्पो थुम्तेन जिग्दोलले ड्रुक्पा परम्पराका अनुयायीले समस्त प्राणी जगत्को हितका लागि गर्दै आइरहेका कार्य अनुकरणीय रहेको बताउनुभयो ।

सो अवसरमा डक्पा वंश, यात्रा र ड्रुक्पा योगी तथा गुरुका बारेमा जानकारी मुलक भिडियो प्रस्तुत गरिएको थियो । समारोहमा विभिन्न मुलुकबाट सहभागी ड्रुक्पा अनुयायीले सांस्कृतिक प्रस्तुति दिनुभएको थियो ।

पाँच दिनसम्म चल्ने सो कार्यक्रममा पवित्र ड्रम अनुष्ठान प्रदर्शन, आध्यात्मिक शिक्षाको आदानप्रदान, आत्मरक्षा, मानव बेचबिखन र दिगो जीवनशैलीका विषयमा कार्यशाला आयोजना हुनेछ । साथै ग्यालवाङ ड्रुक्पा, ग्यालवा दोखाम्पा र क्याब्जे ड्रुपबोन खम्टाक रिन्पोचेलगायतले धर्म, परोपकार र पर्यावरणीय नैतिकतालगायत विषयमा प्रवचन दिनुहुनेछ ।

कार्यक्रममा ड्रुक्पा परम्पराका गुरु ग्यालवाङ ड्रुक्पा रेन्पोछे, भुटानका राजपरिवारका सदस्य र आफन्तजन, विभिन्न मुलुकबाट आउनुभएका ड्रुक्पा परम्पराका सदस्य, आध्यात्मिक गुरु, विद्यार्थीलगायत तीन हजार भन्दा बढीको सहभागिता रहेको ह्वाइट गुम्बाका प्रवक्ता जिग्मे याङ्गचेन गामोले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading