मङ्गलबार, पुष ०९, २०८१

रेल्वेको ट्र्याकले मोरङमा भीमसेनी सुब्बाको सावरसुपखेती अन्योलमा


पथरी (मोरङ), ९ पुसः जिल्लाको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गर्नुभएको हो । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उहाँमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ ।

स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर यहाँ आउनुभएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पका बारेमा दोधारमा हुनुहुन्छ ।

नेपालमा फरक तथा नौलो खेती सुरु गर्नुभएका सुब्बाले सावरसुप ‘एन्टी क्यान्सर’ का रूपमा चिनिने वनस्पति हो भन्नुभयो । आफूले फार्म सञ्चालन गर्दै आएको एक बिघा जमिनमा रेलमार्ग छिरेपछि निराशा र दोधार छाएको उहाँले बताउनुभयो ।

रेलमार्ग फार्ममा परेपछि सबै बैंकिङ प्रक्रिया बन्द भएको बताउँदै पाँच वर्ष पहिले बैंकबाट ऋण लिएर १० कट्ठा जग्गामा फार्म सञ्चालन गरेको सुब्बाले जानकारी दिनुभयो । “अहिले फार्मअन्तर्गको जमिन रेलमार्ग परेपछि फार्म रुग्ण भएको छ । अहिले पूर्व काँकडभिट्टाबाट पश्चिम कञ्चनपुरसम्म रेलमार्गको काम भएको छैन, जग्गा फुकुवा पनि भएको छैन”, उहाँले भन्नुभयो, “यसले गर्दा खेतीको विकल्प वा व्यवस्थापन कसरी गर्ने अन्योलता छाएको छ ।

सुब्बाले छ वर्षअघि कुखुरा, माछा, सुँगुर, काजु, फलफूल र अग्र्यानिक सागसब्जी उत्पादन सुरु गर्नुभएको थियो । अठार वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती हुनुभएका सुब्बालाई १८ वर्षपछि स्वदेशमा कृषि कर्म गर्ने रहर लागेपछि स्वदेश फर्कनुभयो । भारतीय सेनामा हुँदा भएको आम्दानी र सीपबाट आफूलाई कृषिमा लाग्न प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

भारतीय सेनामा हुँदा शान्तिसेना जाँदा देखेको सावर सुपको फल उत्पादन गर्न धेरै सङ्घर्ष गर्नुपर्‍यो । आफन्तको सहयोगमा अमेरिकाबाट बीउ मगाएर सुरु खेती सुरु गरेको थिएँ । अहिले बैंकिङ प्रक्रिया बन्द हुनु, रेलमार्गका कारण जग्गा फुकुवा नहुनुलगायत कारणले ऋणको भार मात्र थपिएको छ”, सुब्बाले भन्नुभयो ।

अमेरिकाबाट एक हजार दुई सय डलरमा बीउ मगाएको जनाउँदै सुब्बाले सुरुमा ४५ वटा बिरुवा उमारेको बताउनुभयो । दश कट्ठा जमिनमा सुरु गरेको खेती अहिले एक बिघामा फैलिएको उहाँले जानकारी दिनुभयो । सावरसुपको फल प्रतिकिलो रु दुई हजार दुई सयसम्ममा नेपाली बजारमा बिक्री हँुदै आएको उहाँले उल्लेख गर्नुभयो ।

व्यावसायिक खेती गर्ने उद्देश्यले अमेरिकाबाट दाना बीउ ल्याई लगाएको बिरुवाले उत्पादन दिन सुरु गरेको सुब्बाले जानकारी दिनुभयो । फार्ममा रेल्वेको ट्र्याक परेपछि आफ्नो सपना अधुरै रहने हो कि भन्ने चिन्ताले सताउन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आफ्नो उर्भर जीवन भारतीय सेनामा बित्यो, सबै सम्पत्ति फार्ममा छ । बैंकले ऋण लिने प्रक्रिया बन्द गरेपछि अहिले समस्यामा छु ।

सुब्बाले गरेको खेती नेपालमा नौलो र फरक किसिमको कृषिजन्य वनस्पति हो । ‘एन्टी क्यान्सर’ बिरुवाका रूपमा चिनिएको उक्त वनस्पतिलाई विदेशमा बढी उपयोग गरिन्छ । नेपालमा यसको महत्वबारे थाहा नभएकाले सुब्बाले यसको महत्व बुझाउन पनि व्यावसायिक खेती सुरु गरेको बताउनुभयो ।

भारतीय सेनामा रहँदा अफ्रिका पुग्नुभएका उहाँले त्यहाँ देखेर सावरसुपको बिरुवालाई अहिले आफ्नो बारीमा हुर्काइरहेको बताउनुभयो । यसको पात र फल खानाले विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ । पछिल्लो समय यसको फल क्यान्सरका बिरामीले रोकथामका लागि खाने गरेका बताउँदै सुब्बाले यसका बारेमा जानकारीमूलक प्रचारप्रसार गर्नुपर्ने भनाइ राख्नुभयो ।

बीउबाट ४५ बिरुवा उमार्नुभएका सुब्बाले अहिले आधुनिक प्रविधिमार्फत एक सय ५० बिरुवा बनाएको जानकारी दिनुभयो । पाँच प्रकारका विभिन्न स्वाद पाइने सावरसुपको फलसँगै पात पनि चियामा प्रयोग हुने उहाँले बताउनुभयो । बिरुवालाई ‘एयर ल्यायरिङ’ र ‘ग्राफ्टिङ’ प्रविधि अपनाएर बिरुवा उत्पादन गरेको बताउँदै उहाँले बिरुवा बिक्री भने नगरेको उल्लेख गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading