महेन्द्रनगर (धनुषा), ७ पुस : जनकपुरधाममा दुईदिवसीय अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ आज सम्पन्न भएको छ । जानकी मन्दिरको परिसरमा शनिबार र आइतबार कन्क्लेभ आयोजना गरिएको थियो ।
भारतको उत्तरप्रदेश सरकारको पर्यटन विभाग, जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा अन्तर्राष्ट्रिय रामायण कन्क्लेभको आयोजना गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । कन्क्लेभमा भजन सम्राट पद्मश्री अनुप जलोटा, पद्मश्री मालिनी अवस्थी, चिराग जैन, सुफलता त्रिपाठीको भजन सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । मिथिला नाट्यकला परिषद्ले जानकी लीला र मथुराको बमर सिया तथा धोबियाले लोकनृत्य प्रस्तुत गरेको थियो ।
कन्क्लेभको पहिलो सत्रमा रामायण समागमअन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका स्वामी डा पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको सहभागिता रहेको थियो । दोस्रो दिन आजको सत्रमा भजन सम्राट पद्मश्री अनुप जलोटा, पद्मश्री मालिनी अवस्थी, चिराग जैन, सुफलता त्रिपाठीको भजन सन्ध्या कार्यक्रम सम्पन्न भएको छ ।
भारत सरकारको रामायण सर्किट अन्तर्गतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच त्रेतायुगकालीन सम्बन्ध रहेको छ । त्रेतायुगमा भगवान् रामले भगवान् शिवको धनुषलाई भङ्ग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।
भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्व भएका स्थलहरुलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न रामायण ‘सर्किट’ बनाएको छ । रामायण सर्किटको प्रमुख स्थानहरुमध्ये जनकपुरधाम र धनुषाधाम एक हो । अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलङ्कामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ ।
भजन सम्राट जलोटाले भन्नुभयो, “जनकपुर र अयोध्याबीच प्रेम र सद्भावको सम्बन्ध छ । रामको महत्व सीतासँग छ । जनकपुरले विश्वलाई नै प्रेम र मिलनको सन्देश दिन्छ, यो अलौकिक भूमिलाई अन्तर्राष्टिय पहिचानको आवश्यकता छ ।”
जानकी मन्दिरका उत्तराधिकारी वैष्णवले जनकपुरले वर्तमान युगसम्म पनि रामायणको महत्वलाई जिउँदो राखेको बताउनुभयो । “यहाँ सीतालाई बहिनी मानेर घरघरमा पूजा गरिन्छ । यो भूमिलाई छोरीको महिमाले चिनिन्छ, त्यसैले जनकपुर छोरीहरुको महत्वलाई विश्वसामु अग्रणी रुपमा अघि सार्दछ”, उहाँले भन्नुभयो ।