मङ्गलबार, पुष ०९, २०८१

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री शाही ठकुरी


काठमाडौँ, ५ पुस : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वन्यजन्तु र जैविक विविधता संरक्षण तथा व्यवस्थापनका लागि अनुसन्धानको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले पहिलो वन अनुसन्धान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वन अनुसन्धान केवल जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणका लागि मात्र नभई अर्थतन्त्र, जीविका र सामाजिक संरचनामा पनि महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

मन्त्री शाहीले वन क्षेत्रले पु¥याएका पारिस्थितिकीय सेवाहरू अतुलनीय रहेका उल्लेख गर्दै वन अनुसन्धानकर्मीहरूले यस्ता क्षेत्रमा गरेका अनुसन्धानका काम सरारानीय रहेका बताउनुभयो । “वन अनुसन्धान र प्रशिक्षण केन्द्रको मुख्य उद्देश्य भनेको वन क्षेत्रको अनुसन्धान, वन्यजन्तु संरक्षण र जलवायु परिवर्तनसँग जुझ्ने उपायको अध्ययन गर्नु रहेको छ । यस केन्द्रले समसामयिक विषयमा अध्ययन र अनुसन्धान मात्र नगरी वन क्षेत्रको व्यवस्थापन, जलवायु परिवर्तन, जलाधार संरक्षण र जैविक विविधिताको क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय छ”, उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनका असरको चपेटामा छ । हरित गृह ग्यास उत्सर्जनमा हाम्रो योगदान न्यून भए पनि जलवायु परिवर्तनको असर हामीले बढी भोग्नुपरेको छ । यस क्षेत्रमा वन अनुसन्धान केन्द्रलाई अनुसन्धान गर्न विशेष अनुरोध गर्दछु । वन अनुसन्धानका माध्यमबाट हामीले पाउने नयाँ सूचना र ज्ञानले प्राकृतिक संसाधनहरूको व्यवस्थापनमा सुधार ल्याउन सक्छ ।

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण, जनसङ्ख्या वृद्धि र अव्यवस्थित विकास गतिविधिका कारण जलवायु परिवर्तन, वन्यजन्तु तथा जैविक विविधतामा नकारात्मक प्रभाव परिरहेकाले यसको सामनाका लागि सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले वन अनुसन्धानका माध्यमबाट यी चुनौतीहरूको समाधान खोज्नु हाम्रो अनुसन्धानको प्रमुख उद्देश्य हुनुपर्ने बताउनुभयो । “वन अनुसन्धानलाई प्रभावकारी बनाउन हामीले आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । अब ड्रोन टेक्नोलोजीको माध्यमबाट वनको नक्साङ्कन, भू–उपग्रहबाट प्राप्त डाटाको विश्लेषण र जैविक विविधताको अध्ययनका लागि आधुनिक प्रविधि अपनाउनुपर्दछ । यी प्रविधिहरूले अनुसन्धानलाई द्रूत, सहज र व्यावहारिक बनाउने छन्”, उहाँले भन्नुभयो, “वन अनुसन्धानका मुख्य क्षेत्रहरूमध्ये जैविक विविधताको संरक्षण, वन क्षेत्रको नवीकरणीय स्रोतहरूको उपयोग र वन पैदावारको दिगो व्यवस्थापन महत्वपूर्ण छन् । साथै, जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै वन क्षेत्रको अनुकूलन क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ ।

वन सचिव डा दीपककुमार खरालले जलवायुजन्य सङ्कटका कारण जैविक विवधतामा असर पुगिरहेको भन्दै यससम्बन्धी थप अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । “वन अनुसन्धान अझै कमजोर छ । अनुसन्धानलाई अगाडि बढाउन क्षमता अभिवृद्धि र लगानी आवश्यक छ”, उहाँले भन्नुभयो ।

प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले पछिल्लो समय वन क्षेत्र बढिरहेको भन्दै वन अनुसन्धानका गतिविधिलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading