सोमबार, पुष ०८, २०८१

झापाको बनियानीमा शून्य खनजोत प्रविधिबाट मकैखेती


बनियानी (झापा), ४ पुसः झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।

ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उहाँको भनाइ छ ।

यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ । मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५–२० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमूना खेतीमा डिएपी मल र बीउ एकै पटक राखिएको छ । जिल्लामा गत वर्ष ४४ हजार हेक्टरमा मकैखेती गरिएको थियो भने उत्पादकत्व सात टन प्रतिहेक्टर रहेको जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading