10/03/2025, 06:29:27
शुक्रबार, असोज १७, २०८२

हुम्लामा विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा


सिमकोट, (हुम्ला), २५ मङ्सिरः हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । मौसम सफा भएपछि आज बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उहाँले बताउनुभयो । विमानस्थलको पार्किङस्थलमा जमेको केही हिउँ आफँै पग्लिएर गए पनि रनवेमा जमेको हिउँ सुरक्षाकर्मीको सहयोगमा पन्छाइएको हो। जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो ।

सेवा सञ्चालनमा आएपछि नेपालगञ्जबाट सीता र तारा एयरले एक एक उडान गरेका हुन् भने सीता एयरले नेपालगञ्ज र सुर्खेत एक–एक गरी दुई फ्लाइट उडान गरेको सीता सिमकोट स्टेसनका सूर्य लामाले बताउनुभयो ।

हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान भर्दै आएका छन् ।