सोमबार, पुष ०८, २०८१

नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक


भेरीगङ्गा (सुर्खेत), २५ मङ्सिर : गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत आउनुभएका गृहमन्त्री लेखकले सबै नागरिकको मानवअधिकारप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट कुनै मानवअधिकार उलङ्घन नभएको उल्लेख गर्दै मन्त्री लेखकले लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गर्नुभयो ।

हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,” मन्त्री लेखकले भन्नुभयो, “कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?

लाखौँ सर्वसाधारण जनताको रकम दुरूपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताउनुभयो ।

अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरूपण गर्ने ?”, गृहमन्त्री लेखकले प्रश्न गर्नुभयो । रवि लामिछाने मात्रै नभएर सहरकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उहाँले बताउनुभयो ।

मन्त्री लेखकले सडकमा भीड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझावसमेत दिनुभयो । उहाँले भन्नुभयो, “न्याय दिने अदालतले होला नि !, भीडले न्याय दिन्छ र ?

पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले अहिलेको सरकार आगामी निर्वाचनसम्म रहने भन्दै यसमा आशङ्का गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading