६ मंसिर, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट एक हजारभन्दा बढी एम्पुल लागू औषधसहित एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ । एक हजार एक सय ९३ एम्पुल लागूऔषध सहित मङ्गला गाउँपालिका–२ की २३ वर्षीया पूर्णा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यही मङ्सिर २ गते आइतबार पक्राउ परेकी बिकलाई आज सार्वजनिक गरिएको हो ।
प्रहरी निरीक्षक सागर पौडेलले बिकको साथबाट तीन सय ९८ एम्पुल डाइजापाम, तीन सय ९७ एम्पुल फेनेरागन र तीन सय ९८ बुप्रेनोफिन बरामद गरिएको जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा बिकको घर खानतलासी गर्ने क्रममा चामलको बोरामा लुकाएर राखेको अवस्थामा लागु औषध भेटिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
बिकविरुद्ध म्याग्दी जिल्ला अदालतमा लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्णको साथबाट म्याग्दी जिल्लामा हालसम्मकै ठूलो परिमाणमा लागू औषधि बरामद भएको प्रहरीले जनाएको छ ।