सोमबार, पुष ०८, २०८१

ब्राजिलकी प्रथम महिलाद्वारा जी–२० शिखर सम्मेलनअघि एलोन मस्कको अपमान


२ मंसिर, काठमाडौं । ब्राजिलकी प्रथम महिला रोजाङ्गेला ‘जान्जा’ दा सिल्भाले शनिबार एक्सका अर्बपति मालिक एलोन मस्कको अपमान गर्नुभएको छ । जी–२० शिखर सम्मेलन अघिको एक कार्यक्रममा उहाँले सामाजिक सञ्जालको कडा नियमनको पक्षमा वकालत गर्नुभयो ।

दुष्प्रचारबारे एक प्यानल छलफलमा बोल्दै गर्दा उहाँ चर्को आवाजले चकित भएको देखिनुभएको थियो । “मलाई लाग्छ यो एलोन मस्क हो”, उहाँले भन्नुभयो, “म तपाईंसँग डराउँदिन, तपाईंलाई धिक्कार छ, एलोन मस्क ।

यस घटनाको भिडियो एक्समा छिटै फैलियो । यसबाट यसका बोल्ने स्वभावका मालिकबाट प्रतिक्रिया आयो । “उहाँहरूले अर्को चुनाव हार्नुहुनेछ”, दुईवटा हाँस्ने इमोजी थप्दै मस्कले लेख्नुभयो ।

टाइकुन तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको प्रशासनका भावी सदस्यको ब्राजिलसँग जटिल इतिहास छ । देशको सर्वोच्च अदालतले दुष्प्रचारसम्बन्धी कानूनी विवादको हिस्साका रूपमा यस वर्ष एक्सलाई ४० दिनका लागि निलम्बन गरेको थियो । वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दुष्प्रचारविरुद्धको वैध उपायका रूपमा निलम्बनलाई स्वागत गर्नुभयो ।

मस्क अति–दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका मित्र हुनुहुन्छ । बोल्सोनारोले देशको निर्वाचन प्रणालीलाई बदनाम गरेको अभियोगमा अयोग्य ठहरिएपछि पनि सन् २०२६ मा फेरि चुनाव लड्ने सङ्केत गर्नुभएको छ । बोल्सोनारोले शनिबार प्रथम महिलाको विवादास्पद टिप्पणीको स्क्रिन सट पोस्ट गर्नुभयो । “अब हामीसँग अर्को कूटनीतिक समस्या छ”, उहाँले लेख्नुभएको छ ।

शीर्ष अर्थतन्त्रहरूको जी–२० शिखर सम्मेलन सोमबार र मङ्गलबार रियो दि जेनेरियोमा हुनेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading