बुधबार, पुष १०, २०८१

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित


२९ कात्तिक, काठमाडौं ।  लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ । लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ ।

मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन् । पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदुषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । उनीहरुले प्रदुषण र धुवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगहरूसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि गरेको जनाएका छन् ।

पाकिस्तानका विभिन्न भागहरूमा धुलो तथा धुवाँको प्रदुषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द गरिएका छन् । पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ ।

सन् २०२४ को ‘नोभेम्बरको सुरुमा उत्तरी पाकिस्तानी आकाश धुवाँले ढाँकिदा हावाको गुणस्तर घटेकाले विद्यालयहरू बन्द भएको र सयौँ मानिसहरू अस्पतालमा पठाइएको नासा मोडिसले जनाएको छ । नासाले देशमा एक्यूआईको घट्दो स्तरलाई पनि ध्यानमा राख्दै पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागहरूमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार ९०० भन्दा माथि पुगेको जनाएको छ ।

पाकिस्तानी मिडिया स्रोतका अनुसार पाकिस्तानको पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले प्रदुषण ‘प्रकोप’ घोषणा गरी आपतकालीन उपायहरू सुरु गरेको घोषणा गरेको थियो ।

प्रदूषणबारे जानकारी दिँदै मोडिसले धुवाँको सतह बाक्लो भएकाले पाकिस्तानको परिदृश्यलाई पूर्ण रूपमा अस्पष्ट पारेको बताएको छ । पछिल्लो समयमा विश्वको सबैभन्दा बढी प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर सहर परेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading