मङ्गलबार, पुष ०९, २०८१

रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर


२५ कात्तिक, बागलुङ ।  ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटो-ढुङ्गाले बनेका बार्दली सहितका अधिकांश घरमा ताला लगाइएको छ ।

एक दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौँदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो । विसं २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि बस्ती रित्तिन थालेको हो ।

ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण बन्दै गएका स्थानीय बताउँछन् ।

खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो सङ्ख्यामा शरणार्थी बस्ने गरेमा अहिले बसोबास गर्ने घट्दै गएका उहाँको भनाइ छ ।

ढोरपाटनमा पहिले धेरै शरणार्थीको बसोबास थियो, अहिले विस्तारै बस्ती खाली हुन थालेको छ । अवसर खोज्दै बजारतिर बसाइँसराइ गनृ गलेपछि अहिले गाउँमा बुढापाका मात्र छन्”, पुनले भन्नुभयो, “विकासका हिसाबले ढोरपाटन पछाडि रहेकाले पनि युवा अवसर खोज्न सहर तथा विदेश फस्न थालेका हुन् ।

नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जनाको मात्र बसोबास रहेको जानकारी दिनुभयो । आफ्नो बाउ र बाजे करिब ५३ वर्ष अघि यहाँ आएका भन्दै अहिले क्याम्पमा बुढापाका मात्र रहेका उहाँले उल्लेख गर्नुभयो ।

राज्यबाट यहाँका शरणार्थीलाई आधारभूत सेवा उपलब्ध हुनुपर्नेमा भुदलिे जोड दिनुभयो । क्याम्पमा बस्दै आएका हुनेखानेहरू सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै यहाँ बस्ने गरेका उहाँले बताउनुभयो । “पहिला यहाँ धेरै शरणार्थी बस्ने गरेका बुबा र हजुरबुबाले भन्नुहुन्थ्यो । अहिले घटेर ४० जना भएका छौँ”, भुदीले भन्नुभयो, “मानिस बसाइँ सरी जान थालेपद्धि अधिकांश घर जीर्ण बन्दै गएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा ५६, आव २०७९/८० मा ५३ र गत आवमा ५० जनाले परिचयपत्र नवीकरण गरेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading