मङ्गलबार, पुष ०९, २०८१

सुनसान छन् तिहारमा गाउँघर


१८ कात्तिक, सोलुखुम्बु । “पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । पाँच/छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो”, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, “तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।

उहाँलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्मथलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा पाका पुस्ताहरु मात्र बाँकी छन् युवा धेरै विदेशमा छन् । काठमाडौँ गएकाहरु पनि फर्किएनन् । त्यसैले तिहारमा गाउँघर रमाइलो छैन् ।”

युवा गाउँमा रित्तिएसँगै बुढापाका, बालबच्चा र असक्त मात्रै बाँकी रहेको स्थानीय बताउँछन् । सोताङका शिक्षक रामबहादुर बस्नेतका अनुसार गाउँघरदेखि जिल्लाका बजारमा देउसीभैलो खेल्ने खासै देखिएका छैनन् । केटाकेटीहरु छिटफुट देउसी खेल्न हिँडेको उहाँले बताउनुभयो । विगतमा टोलैपिच्छे विभिन्न समुह तथा क्लबले दिउसी खेल्ने चलन भए पनि यस वर्ष देउसी खेल्ने मान्छे नभएपछि धेरै गाउँहरुमा सामूहिक देउसी खेल्नेक्रम बढेको छ ।

गाउँघरमा रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउण्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताउनुभयो । यस वर्षको तिहारमा सदरमुकाम सल्लेरी बजारमा विगतमा झैँ चाडपर्वको रौनक देखिएन । सल्लेरी बजार सुनसान छ भने व्यवसायीमा व्यापार नभएको गुनासो छ । “अघिल्लो वर्षसम्म तिहार आसपासमा दैनिक रू ९० हजारसम्मको व्यापार हुने गरेकामा यस वर्ष मुस्किलले रू १० हजारको व्यापार भएको सल्लेरीका व्यापारी निरकुमार नेपालीले बताउनुभयो ।

आर्थिक सङ्कटले मुलुक ग्रस्त बनिसकेछ, पहिला जस्तो किनमेल गर्ने मानिस नै छैनन् । सल्लेरीमा मैले पसल गरेको पाँच÷छ वर्ष भयो तर यस वर्षको जस्तो तिहार कहिल्यै भएको थिएन”, उहाँले भन्नुभयो, “तिहारका लागि आवश्यक मसलादेखि फलफूलसमेत बिक्रीका लागि ल्याइयो तर किन्ने मान्छे नै आएनन् ।

किराना होस वा अन्य पसलमा ग्राहकहरुको उपस्थिति थोरै छ । व्यवसायीमा निराशा छाएको देखिन्छ । “कोरोना कहरको समयमा योभन्दा राम्रो व्यापार भएको थियो, तर अहिले त्योभन्दा खस्कियो, खै किन हो सर्वसाधारणमा चाडवाडको उमङ्ग देखिँदैन”, बासाका स्थानीय व्यापारी उजीर कार्कीले भन्नुभयो ।

विगतमा सुरक्षाका कारण राति ९ बजेपछि देउसीभैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाउने गरेको थियो । तर पनि रातभर देउसीभैलो खेल्नेको कमी नहुने सल्लेरीका स्थानीय बाबुराम श्रेष्ठले स्मरण गर्नुभयो । यस वर्ष २४सै घण्टा देउसीभैलो खेल्ने व्यवस्था प्रशासनले मिलाएको छ । तर देउसीभैलो खेल्नेहरु भेटिँदैनन् । रातभर गुञ्जिने देउसे गीत साँझ ७ नबज्दै बन्द हुने गरेको स्थानीयको भनाइ छ ।

पहिलेपहिले रोजगार, अध्ययन तथा काम विशेषले जिल्ला बाहिर जानेहरु तिहारअघि गाउँ फर्किन्थे । यस वर्ष चाडपर्वमा गाउँ फर्कनेको सङ्ख्या खासै नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चाडपर्वमा यात्रु नठगिउन् भनेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेर समन्वय गरेको छ । यद्यपि जिल्ला भित्रिनेको सङ्ख्या न्यून हुँदा कतिपय गाडीहरु खाली आउने गरेको दूधकुण्ड ज्वालामाइ यातयात समितिका सदस्य जीवन थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अघिल्लो वर्ष काठमाडौँबाट सोलु आउने टिकट नपाएर हामीले रातारात राति नै गाडी काठमाडौँ फर्काउनु परेको थियो । यसपाली त्यस्तो छैन् । जिल्ला आउने यात्रु नहुँदा गाडी काठमाडौँ मै थन्किएर बसेका छन् ।

लोप हुँदै मौलिकता

तिहार भन्नेबित्तिकै देउसीभैलोको याद आइहाल्छ । तर पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसीभैलोमा मौलिकता लोप हुँदै गएको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी मिना रसाइलीलाई आफू सानो छँदा खेलेको देउसीभैलोको याद खुब आउँछ । तर पछिल्ला वर्षहरुमा देउसीभैलो खेल्दा त्यो मौलिकता नभेटिएको उहाँले बताउनुभयो । हरेक चाडपर्वको आफ्नै महत्व र विशेषता छ । तिहारको रमाइलो पक्ष झिलिमिली र देउसीभैलो हो । तर पछिल्लो समय देउसीभैलो खेल्ने शैली परिवर्तन भएको छ ।

आधुनिक प्रविधिले नेपाली मौलिक संस्कार ओझेलमा पारेको सिद्धिचरण नगरपालिका–७ ओखलढुङ्गाका राकेश श्रेष्ठ बताउनुहुन्छ । देउसीभैलो खेलिने प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । ती कथनहरु तिहारको समयमा देउसीभैलोमा प्रकट गर्ने पुरानो संस्कार भएको बुढापाका बताउँछन् । तर आधुनिकताको प्रभाव बढ्दा देउसीभैलोको मौलिकता लोप हुन थालेको नेचासल्यानकी हरिमाया कटेलको बताउनुहुन्छ ।

एक त गाउँघरमा युवा छैनन्, भएकाहरु पनि क्यासेट बजार नाच्छन् गाउँछन् मुखले भट्टाएर, मादल बजाएर देउसी खेल्ने चलन हरायो”, कट्टेलले भन्नुभयो । मौलिक देउसीभैलोको सट्टा रेकर्ड गरिएका गीतमा नृत्य प्रस्तुत गर्दा देउसीभैलोको मौलिकता ओझेलमा परेको छ । हिन्दी, अङ्ग्रेजी तथा भड्किलो शैलीका गीतमा प्रस्तुत गरिने नृत्यलाई देउसीभैलो मान्ने जमात बढ्दो छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading