मङ्गलबार, पुष ०९, २०८१

देउसीभैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ


१६ कात्तिक, म्याग्दी । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो । यसपटक तिहार शुरु भएयता बेनी बजारमा देउसीभैलो खेल्ने जम्मा दुई वटा समूह मात्र छन् । बेनीको इन्द्रेणीचोकका व्यवसायी किरण कार्कीले यसपाली देउसीभैलोको रौनक नदेखिएको बताउनुभयो ।

देउसीभैलो खेल्न आएका कलाकार पनि १२ कक्षासम्म अध्ययन गर्ने उमेर समूहका र आमा समूहका मात्र छन,” उहाँले भन्नुभयो “१२ कक्षा उत्तीर्ण गरेका धेरै युवायुवती विदेशिदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको हो ।

सदरमुकाम बेनी बजार मात्र नभएर म्याग्दीका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवतिहरु कम रहेका स्थानीयबासीहरु बताउँछन् । बजारमा भएका युवा युवतिहरु विदेशिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएका लोक संगितकर्मी संघ म्याग्दीका अध्यक्ष गोकुल सुनारले बताउनुभयो ।

देउसीभैलोसँगै विभिन्न किसिमका गितमा नृत्य प्रस्तुत गर्न एउटा समूहमा २० देखि ३० जना कलाकार आवश्यक पर्छ,” द साइनिङ नृत्य समूहको देउसीभैलोमा सहभागी उहाँले भन्नुभयो “पुराना कालाकार विदेशिएपछि नयाँलाई तालिम दिएर नचाएका छौ ।

कलाकार र युवा पलायनको असर

नाचगानमा राम्रो कला भएका राजकुमार परियार, गोकुल वि.क, सोनिया पुन, मिलन थापामगरलगायत म्याग्दीका कलाकारहरु पछिल्लो एक वर्षयता रोजगारीको शिलशिलामा विदेशिएका सुनारले बताउनुभयो । जिल्ला बाहिरका सहर र विदेशमा रहेका म्याग्देलीहरुले भने तिहारको अवसरमा देउसीभैलो खेलेका छन् । पोखरामा म्याग्दी–पोखरा चौतारी, पोर्चुगल, बेलायत, अमेरिका, जापान, दक्षिण कोरीया, अस्ट्रेलीयालगायत देशमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा देउसीभैलो खेलीएको छ ।

भेला भएर आफ्नो जातीय पोशाकमा सजिएर मौलिक गीतमा नाचगान सहित देउसीभैलो देखिएको अमेरिकामा रहनुभएका म्याग्दी ताकमका राहुल केसीले बताउनुभयो । “बाध्यताले विदेशिनु परेपनि आफ्नो संस्कार र संस्कृति प्यारो लाग्दो रहेछ,” उहाँले भन्नुभयो “हाम्रो सन्तानहरुले चाडपर्व र संस्कृतिको बारेमा सिकुन भनेर पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छौ ।

विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ ।

हाल जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० छ । जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्या कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको छ ।

देसीभैलोको उद्देश्य, स्वरुप र शैली फेरियो

पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरुप र उद्देश्य पनि फेरिएको छ । संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ । कलाकारहरुले आफै भट्याउने, बजाउने चलन कम छ । रेकर्ड गित स्पिकरमा बजाएर नाच्ने गरिएको छ । यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताउनुभयो ।

प्रविधिको उपयोग र आधुनिकताको अनुशरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन, युवा क्लव, आमा समूह र विभिन्न संघ संस्थाले कोष स्थापनाको उद्देश्य राखेर देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोमा पौराणिक कथा प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ । देउसीभैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ ।

घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन् । देउसी भैलोमा गाइने गीतमा बलिराजाको प्रसंङ्ग जोडिएको पाइन्छ । विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने देखिन्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading