मङ्गलबार, पुष ०९, २०८१

कडा निगरानीकाबीच रोकिएन काठमाडौँ उपत्यकामा पटका पड्किने क्रम


१६ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । काठमाडौँको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ ।

लगातार पटका पड्काउँदा नागरिकमा ध्वनी प्रदूषणसमेत भएको छ,भने आगलागीको जोखिम पनि बढेको चन्द्रागिरी निवासी शरण शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “राति १२ बजेसम्म पटका पड्किएको थियो, ठूलाठूला आवाज आउँदा ‘डिस्टबर्’ नै भयो, अहिले बिहान पनि उठ्न नपाउँदै लगातार पटका पड्किरहेका छन्, सुरक्षा निकायबाट निगरानी प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

सुरक्षा निकायले मुख्य मार्ग तथा काठमाडौँको ‘कोर’ क्षेत्रमा उपस्थिति देखिए पनि अली भित्री सडकहरुमा न्यून रुपमा मात्रै गस्ती भइरहेको पनि उहाँले बताउनुभयो । त्यसका कारण पटका भित्रिने र पड्काउने क्रम नरोकिएको हो । नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले तिहारमा जुवातास तथा पटकाजन्य पदार्थको प्रयोग बढी हुने भएकाले पनि त्यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बढाइएको बताउनुभयो । प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।

पटका नियन्त्रण अभियानकै क्रममा त्यस्ता व्यक्तिलाई पक्राउ गरी उपत्यकामा मुद्दासमेत चलाइएको छ । विष्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने भएकाले यस्ता गतिविधि गर्नेहरुलाई सोही अनुसार मुद्दा चलाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरीले सार्वजनिक अपिल गर्दै भनेको छ, “पटका र पटकाजन्य पदार्थ विष्फोटक पदार्थका रुपमा रहेकाले तिहार त हो पड्काउँ न भनेर गैरकानुनी गतिविधि गर्दा कानुनी कारबाहीमा परिन्छ, पटकाजन्य पदार्थ ओसारपसार, भण्डारण, बिक्रीवितरण र प्रयोग गर्न सबैमा प्रतिबन्ध छ, यस्तो पाइएमा तीन महिनादेखि एक वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यस्ता गतिविधिमा कोही संलग्न नहुनु ।

यसपाली नेपाल प्रहरीले देशभर ४८ हजारभन्दा बढी सुरक्षाकर्मी तिहार सुरक्षामा खटाएको छ । काठमाडौँ उपत्यकामा मात्रै दैनिक पाँच हजार सुरक्षाकर्मी तिहार सुरक्षाकै लागि परिचालन भइरहेका छन् । काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाका तीन जिल्ला “काठमाडौँ, ललितपुर र भक्तपुर” का लागि एकीकृत रुपमा चाडपर्व सुरक्षा योजना लागू गरी निगरानी बढाएको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक तथा सामाजिक जनजीवन र सार्वजनिक मर्यादा तथा शान्ति सुरक्षामा खलल गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताउनुभयो ।

जुवातास, लड्गुरबुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटका, आतिसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण गर्ने जस्ता कार्य नगर्न/नगराउन अनुरोध छ, देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न अनुरोध गरेका छौँ”, सहायक प्रजिअ पौडेलले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading