पश्चिम नवलपरासी, ४ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आसन्न शीतलहर र बढ्दो चिसोबाट नगरवासीलाई सुरक्षित राख्न पूर्व तयारीका गरेको छ । चिसोबाट बच्न सर्वसाधारणका लागि नगरपालिकाले नगरका मुख्य चोकहरूमा दाउरा वितरण गर्ने छ । त्रिवेणी, चिसापानी, भुताहा, मझौनी, भटौलिया र नारायण चोक लगायतका स्थानहरूमा दाउरा बाल्ने व्यवस्था मिलाइनेछ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार राहत वितरण कार्यलाई थप व्यवस्थित बनाउन निजी क्षेत्र, बर्दघाट जेसिज, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक वन र राजनीतिक दलहरूसँग समन्वय गरिनेछ ।
“विपद्को समयमा कोही पनि नगरवासीले न्यानो कपडा र आश्रयको अभावमा कष्ट भोग्न नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’’ नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

लक्षित वर्गलाई न्यानो कपडा
नगरपालिकाले यस वर्ष शीतलहर लक्षित राहतका लागि पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट एक हजार सेट टोपी र मोजा तथा करिब पाँच सय थान कम्मल खरिद गरी वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो ।
साथै, स्वास्थ्य शाखामार्फत १७ वटा स्वास्थ्य चौकी र शिक्षा शाखामार्फत सामुदायिक विद्यालयहरूमा शीतलहरसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने नगरपालिका विपद् फोकल पर्सन कृष्ण थापा क्षेत्रीले जानकारी दिनुभयो ।
निष्पक्ष वितरणका लागि अनुगमन समिति
राहत वितरण कार्यलाई राजनीतिक प्रभावबाट मुक्त र पारदर्शी बनाउन नगरपालिकाले विशेष चनाखोपन अपनाएको छ । सामग्री खरिद र वितरणका लागि छुट्टै समितिहरू बनाउनुका साथै उपप्रमुख रुद्र प्रकाशको नेतृत्वमा ‘निगरानी तथा अनुगमन समिति’ गठन गरिएको छ ।
– पुरुषोत्तम सुबेदी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















