12/18/2025, 23:16:13
बिहिबार, पुष ०३, २०८२

बर्दिया घटना : कुरुवाबिना घरमा बस्नै सक्दैन पीडित परिवार


बर्दिया, पुस ३ : न्याय नपाएकै कारण चार दिनको अन्तरालमा बाबुछोरीले ज्यान गुमाएपछि पीडित परिवार अहिले भयभीत छ । आफ्नै घरमा पनि पीडित परिवार राम्रोसँग सुत्नसमेत सकेको छैन ।

बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीमा भएको यो घटनापछि उक्त परिवार त्रसित बनेको हो । चार दिनको अन्तरालमा घरका दुई सदस्यले ज्यान गुमाएपछि परिवारका अन्य सदस्य भयभित छन् । घटना भएयता घरका सदस्य डराएर घरमा आनन्दले सुत्नसमेत सकेका छैनन् । परिवारका सदस्यहरुले डरले घरमा बस्न सक्ने स्थिति नहुँदा राति आफन्त आएर कुर्ने गरेका छन् ।

२२ वर्षीया अञ्जु थारुले कात्तिक २२ गते र उनका ६१ वर्षीय बुवा कान्छा थारुले कात्तिक २५ गते ज्यान गुमाएपछि परिवारका अन्य सदस्य त्रसित बनेका हुन् । उक्त परिवारमा अञ्जुकी ७ वर्षीया छोरी अनिता, उनकी आमा, भाइ, दाइ र भाउजू छन् । उनीहरु डराएर घरमा बस्न नसक्दा करिब ७/८ किलोमिटर टाढाबाट आफन्त आएर दैनिक राति कुर्न थालेका छन् ।

लगातार भएका दुई घटनाको झझल्कोले आफूहरू डराइरहेको अञ्जुकी भाउजू सुमन कुमारी थारुले बताइन् । ‘न्याय नपाएकै कारण चार दिनभित्र घरका दुई सदस्यले ज्यान दिएपछि हामीलाई साह्रै डर लागेको छ र राति घरमा सुत्नसमेत सक्दैनौं,’  उनले भनिन्,  ‘डराएर घरमा सुत्न नसकेपछि बाँसगढी नगरपालिका–३ लखनाबाट ठूली दिदी सिर्जना र बेलवाबाट माइली दिदी सबिना राति आएर सुत्नुहुन्छ र बिहान ५ बजे उठेर आफ्नो घर जानुहुन्छ ।

भर्खरै दुई सदस्य गुमाएको पीडा त्यस्तै छ, आर्थिक स्थिति कमजोर भएकाले औषधि-उपचार गराउन नसक्दा थाइराइड रोगले आमाको घाँटी सुन्निँदा झन् तनाव भइरहेको अरुण थारुले बताए । ‘सुकुम्बासी भएकाले आयोगबाट पाएको जग्गामा गाउँदेखि पर एक्लो मेरो घर छ र जति त्रसित भए पनि अन्त जाने ठाउँ छैन ।

पतिबाट उपेक्षित अञ्जुलाई वडा र जिल्ला प्रशासनले नागरिकता नदिँदा उनले पाउनुपर्ने अंश समेत पाइनन् । यस्तै छोरी अनिताको जन्मदर्ता गर्नसमेत अस्वीकार गरे । विभेदका कारण नागरिकता र पतिबाट अंश पाउन नसकेर अञ्जुले घरमै आत्महत्या गरिन् भने सँगै न्यायको लडाइँमा संघर्ष गर्दै आएका उनका बाबु ६१ वर्षीय कान्छा थारूले पनि चार दिनपछि छोरीकै बाटो पछ्याएका थिए ।

पतिबाट उपेक्षित अञ्जुले अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । अदालतले अंश पाउने फैसला गरेको थियो तर, उनीसँग नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् । वडा र जिल्ला प्रशासनले उनलाई नागरिकता दिन मानेनन् । छोरी अनिताको जन्मदर्ता गर्नसमेत वडाले अस्वीकार गर्दा अञ्जु निराश हुँदै मृत्युको बाटो रोज्न बाध्य भएको उनको परिवारको दाबी छ ।

महिलामाथि नागरिकताको विभेद : राज्यले दिएन न्याय, बाबु छोरीले दिए ज्यान’ शीर्षकमा मंसिर १९ गते कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि मंसिर २० गते प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्दै निर्देशन दिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीको संयोजकत्वमा सदस्यद्वय गृहका उपसचिव कुलशेखर अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीसहित तीन जनाको छानबिन समिति गठन भएको थियो । समितिलाई ५ दिनभित्र निष्पक्ष रुपमा छानबिन गरी प्रतिवेदन बुझाउने आदेश थियो । तर, एक साता बितिसक्दा समेत समितिले प्रतिवेदन बुझाउन सकेको छैन ।

उक्त समिति मंसिर २४ गते बर्दिया पुगेर छानबिन सुरु गरेकै दिन जिउँदो छँदा नागरिकता नपाएकी अञ्जुको मृत्यु दर्ता र उनकी ७ वर्षीया छोरी अनिताको जन्मदर्ता बढैयाताल गाउँपालिका–४ वडा कार्यालयले दिएको थियो ।

मंसिर २४ गते पीडित परिवार र बढैयाताल–४ का वडाध्यक्ष नरे थापा लगायतसँग छुट्टाछुट्टै सोधपुछ गरी अर्को दिन उक्त घटना सम्बन्धी प्रशासनमा बुझेर मंसिर २५ गते साँझ छानबिन समिति काठमाडौं फर्किएको थियो ।  बिहीबारसम्म प्रतिवेदन बुझाउन नसकेको छानबिन समितिका सदस्य बर्दियाका सहायक प्रजिअ भण्डारीले बताए । ‘छानबिनको काम अन्तिम चरणमा पुगेको छ,’  उनले भने, ‘अब छिट्टै सरकारलाई प्रतिवेदन बुझाउने समितिको तयारी छ ।

अञ्जुको मृत्युपछि उनका श्रीमान् अनिल थारुविरुद्ध इलाका प्रहरी कार्यालय मैनापोखरमा आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो । बढैयाताल–४ दक्षिण भकारी स्थायी घरभएका अनिल केही वर्षदेखि बाँके कोहलपुर नगरपालिका–६ मा बस्दै आएका थिए । मंसिर २९ गते कोहलपुर–११ गोलपार्कबाट प्रहरीले अनिललाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।

– रामप्रसाद चौहान