12/14/2025, 17:26:10
आइतबार, मङि्सर २८, २०८२

कक्षा ५ मा पढ्नेले चिन्दैनन् अक्षर


इनरुवा, मङ्सिर २८ : सुनसरीको इनरुवा नगरपालिका २ मा रहेको बुढासुब्बा आधारभूत विद्यालयका कक्षा ५ मा पढ्ने विद्यार्थीहरुले अक्षर नै चिन्दैनन् ।

बालविकास केन्द्रदेखि कक्षा ५ पुग्दा झण्डै ६ वर्ष लगानी गरेका विद्यार्थीहरुले अक्षर नै नचिन्ने अवस्थाका रहेको पाइएको छ । कक्षा ५ मा विद्यार्थीकाे सङ्ख्या जम्मा १० जना छ । धेरैलाई नेपाली अक्षर पढ्न र चिन्न समस्या रहेको पाइएको हो । विद्यालयमा ८० जना विद्यार्थी र पाँच जना शिक्षक कर्मचारी छन् ।

अभिभावकहरुले आफ्नो बालबालिकाले अक्षरसमेत नचिन्दा लगानी बालुवामा पानी भएको भन्दै आक्रोश पोखेका छन् । इनरुवा–२ का अभिभावक गणेश पण्डितले बुढासुब्बा विद्यालयमा अध्ययन छोराछोरीले अक्षर नै चिन्न नसक्ने अवस्था रहेको गुनासो गर्नुभयो ।

यस विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुले अक्षर नै चिन्दैनन् भने विद्यालयको प्रारम्भिक बालविकास केन्द्रमा पढाउने बाल शिक्षकले समेत आफ्नो जिम्मेवारी र पद नै थाहा नभएको प्रतिक्रिया दिएका छन् । एउटै कोठामा २० जना बालकालिका बाल विकास केन्द्रका रहेको र त्यसमा दुई जनाले पढाउने, सिकाउने र खेलाइरहनुभएको बालशिक्षक पूर्णिमा मण्डललाई आफ्नो पद के हो भनेर सोध्दा थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

राजनीतिक पहुँचमा मण्डलले नियुक्ति पाएकाले क मा काम गरेको पद नै थाहा नभएको स्थानीयले आरोप लगाएका छन् । यस विषयमा विद्यालयमा पुगेर सोध्दा उहाँले पढाउने शिक्षक भएको प्रतिक्रिया दिनुभयो । मण्डलले आफू पढाउने गरेको शिक्षक पद भएको प्रतिक्रिया दिनुुहुँदै सबै कुरा याद नै गर्नुपर्ने भनी प्रतिप्रश्न गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक गणेश भट्टराईले केही विद्यार्थी नियमित नभएकाले अक्षर चिन्न समस्या भएको, तर सबैलाई त्यो समस्या नभएको दाबी गर्नुभएको छ । प्रअ भट्टराईले विद्यार्थी नियमित नआउने, कपी कलम लिएर नआउने र विपन्न परिवारका भएकाले केही विद्यार्थीलाई मात्र अक्षर चिन्ने समस्या भएको बताउनुभयो । शिक्षकलाई पद र जिम्मेवारी थाहा नभएको विषयमा प्रअ भट्टराईले यसबारे बोल्न अस्वीकार गर्नुभयो ।

– जयकृष्ण यादव