10/17/2025, 20:38:19
शुक्रबार, कार्तिक ०१, २०८२

प्रदर्शनको क्षतिमा परेको दाबीमध्ये पौने १६ अर्ब नेपाल पुनर्बिमा कम्पनीमा


काठमाडौँ, ३१ असोज : भदौ २४ को प्रदर्शनमा भएको क्षतिको परेको बिमा दाबीमध्ये पौने १६ अर्ब रुपैयाँ बिमा कम्पनीहरुले नेपाल पुनर्बिमा कम्पनीमा दाबी गरेका छन् ।

बिहीबारसम्म नेपाल पुनर्बिमा कम्पनीमा निर्जीवन बिमा कम्पनीहरूबाट कुल २ हजार ७ सय ३३ वटा पुनर्बिमा दाबी परेको र पुनर्बिमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको बिमा प्राधिकरणले जनाएको छ । जसमध्ये पुनर्बिमा कम्पनीले हालसम्ममा करिब १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेस्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिएको र ६० वटा दाबीको मूल्यांकन तथा अनुगमनका लागि संयुक्त बिमा सर्भेयर खटाएको बताइएको छ ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीको अद्यावधिक तथ्यांक निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल ३ हजार १६६ वटा बिमा दाबीको करिब २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको जानकारी निर्जीवन बिमा कम्पनीहरूले दिएका छन् । निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार, कुल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब २ अर्ब १ करोड ९८ लाख बिमितहरूलाई भुक्तानी भइसकेको बताइएको छ ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्यांकन एवं अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बिमकहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।